एनसेलकाे ‘एटीन फर एटीन’ का लागि १६५ भन्दा बढी प्रस्ताव

 फागुन ११, २०८० शुक्रबार ८:२४:५९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – एनसेलले आफ्नो व्यावसायिक सामाजिक जिम्मेवारी (सीएसआर) अन्तर्गत ‘एटीन फर एटीन’ अर्थात १८ का लागि १८ कार्यक्रमका लागि एक सय ६५ भन्दा बढी प्रस्तावहरु प्राप्त गरेको छ। देशका सातै प्रदेशबाट कम्पनीले आफ्नो १८औँ वार्षिकोत्सवको उपलक्ष्यमा समुदाय स्तरमा लागू हुने गरी यो कार्यक्रम सञ्चालन गर्न लागेकाे हाे । 

अहिले एनसेलले प्राप्त प्रस्ताव तथा आवेदनहरुको मुल्याङ्कन गरिरेहको छ । एनसेलले माघ १७ गतेसम्मको समय दिएर ७ वटै प्रदेशका इच्छुक गैरनाफामूलक संस्थाहरूबाट आ–आफ्नो स्थानीय समुदायलाई हित गर्ने कुनै पनि सामुदायिक विकास परियोजनाका लागि आवेदन दिन आह्वान गरेको थियो ।

एनसेलका अनुसार देशभरिबाट शिक्षा, स्वास्थ्य, वातावरण, विपद् व्यवस्थापन तथा प्रतिकार्य र जिविकोपार्जन सहयोग लगायतका क्षेत्रहरुमा विकास कार्य गर्न उत्साहजनकरुपमा प्रस्तावहरु प्राप्त भएका छन् । लागू हुने आयोजनाले समुदायमा पार्ने प्रभाव, त्यसको दिगोपना, आयोजनालाई थप विस्तार गर्न सकिने सम्भावना लगायतका आधारहरुमा कार्यक्रमहरु छानिने कम्पनीले बताएको छ ।

तोकिएको मापदण्ड र प्रक्रिया पुर्‍याएर छानिने हरेक विकास आयोजनाका लागि कम्पनीले १० लाख रुपैयाँ प्रदान गर्नेछ । यस सामाजिक पहल अन्तर्गत कुल १८ आयोजनाहरु छानिने छन् र प्रत्येक एक प्रदेशमा दुई आयोजना लागू गरिनेछन् । बाँकी चार आयोजनाहरु प्राप्त प्रस्तावको महत्व र प्रभावका आधारमा छानिएका प्रदेशमा कार्यन्वयन गरिने छन् ।

दिगो विकास लक्ष्यहरू हासिल गर्न सरकारलाई सहयोग गर्ने कम्पनीको प्राथमिकता अनुरुप एनसेलले लामो समयदेखि सीएसआरलाई उच्च प्राथमिकतामा राख्दै आएको छ । 

अन्तिम अपडेट: बैशाख १४, २०८१

तपाईको प्रतिक्रिया