नेत्रज्योति सङ्घका महासचिव चन्द ‘अन्धोेपन निवारणमा उत्कृष्ट सेवा पुरस्कार’ बाट सम्मानित

 फागुन १३, २०८० आइतबार १२:९:२१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – नेपाल नेत्रज्योति सङ्घका महासचिव भरतबहादुर चन्द ‘अन्धोेपन निवारणमा उत्कृष्ट सेवा पुरस्कार’ बाट सम्मानित हुनुभएको छ । इन्डोनेसियाको बालीमा भैरहेको आँखा रोग विशेषज्ञको वार्षिक सम्मेलनमा एशिया–प्यासिफिक एकेडेमी अफ अफ्थाल्मोलोजी (अपाओ) ले उहाँलाई उत्कृष्ट सेवा पुरस्कार प्रदान गरेको हो ।

चन्दले नेपालमा अन्धोपन निवारणमा महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै अपाओले उहाँलाई सम्मान गरेको हो । यो पुरस्कार वार्षिक रुपमा एसिया–प्रशान्त क्षेत्रमा अन्धोपन निवारण गर्न महत्वपूर्ण योगदान गर्ने व्यक्तिलाई प्रदान गर्ने गरिन्छ । चन्दले सङ्घको गुल्मी शाखा सभापति हुँदा जिल्लालाई मोतिविन्दुरहित जिल्ला घोषणा गराउन अभियानको शुरुवात गर्नुभएको थियो । 

नेपाल नेत्रज्योति सङ्घले ४५ वर्षमा झण्डै ४९ लाखको आँखाको शल्यक्रिया भएको जनाएको छ । २०३५ सालमा नेपालमा आँखा उपचार सेवाको विकास र विस्तारको लक्ष्यसहित स्थापना भएको सङ्घले अहिलेसम्म ४८ लाख ६७ हजार ७ सय ७४ जनाको आँखाको शल्यक्रिया भएको जनाएको छ ।

सङ्घ अन्तर्गत अहिले देशभरमा २७ आँखा अस्पताल, एक सय ५४ आँखा उपचार केन्द्र तथा ४४ जिल्ला शाखा सञ्चालनमा छन् । सङ्घअन्तर्गतका आँखा अस्पताल, आँखा उपचार केन्द्रमार्फत् वार्षिक ३० लाख भन्दा धेरै बिरामीको आँखा जाँच हुने गरेको छ । ती उपचार केन्द्र मार्फत् नेपाली नागरिक तथा अन्य विभिन्न देशका नागरिक गरी कुल चार करोड दुई लाख ८६ हजार पाँच जना आँखाका बिरामीलाई आँखा उपचार सेवा प्रवाह भएको छ ।

अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया