सत्ता गठबन्धनमा दरार आएको हल्लासँगै कांग्रेस र माओवादीबीचको विवाद सडकदेखि सदनसम्म देखिन थाल्यो

पर्यटनमन्त्री किरातीले भ्रष्टाचार गर्न खोजेको रामहरि खतिवडाको आरोप

 फागुन १३, २०८० आइतबार १५:५:५ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – सत्ता गठबन्धनका मुख्य साझेदार नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रबीचको विवाद सडकदेखि सदनसम्म देखिन थालेको छ ।

यसअघि गएको हप्ता भएको नेपाली कांग्रेसको महासमिति बैठकमा धेरैजसो सदस्यले माओवादीसँगको गठबन्धनको विरोध गरेका थिए । सामाजिक सञ्जालमा पनि दुवै दलका नेता कार्यकर्ताले एकअर्काविरुद्ध लेख्न थालिसकेका छन् । अहिलेको गठबन्धन परिवर्तन हुने हल्ला चेलिरहेका बेला कांग्रेस र माओवादीबीचको तिक्तता संसदमा पनि देखिन थालेको छ ।

आज प्रतिनिधि सभाको बैठकमा नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले भ्रष्टाचार गर्ने नियतका साथ काम गरिरहेको आरोप लगाउनुभएको छ । उहाँले 'थ्रि हन्ड्रेड जी' जहाज किनेर १८ करोड रुपैयाँ कमिसन खाने खेलमा मन्त्री किरातीको जोड रहेको जिकिर पनि गर्नुभएको छ । आफ्नो मन्त्रालयको कार्यकक्ष सफा गर्न क्यामेरा लिएर जाने र सामाजिक सञ्जालमा भिडियो हालिदिएपछि सबैभन्दा क्रान्तिकारी र राम्रो मन्त्री हुने हो भने देश विकास कसरी हुन सक्छ भन्दै खतिवडाले पर्यटनमन्त्रीको चर्को आलोचना गर्नुभयाे ।

आज नेपाली कांग्रेसकै सांसदले सरकारका मन्त्रीको चर्को आलोचना गरेको विषयलाई राजनीति क्षेत्रमा महत्त्वका साथ हेरिएको छ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पछिल्ला केही भाषणमा अहिलेको गठबन्धन भत्काएरै छाड्ने बताउँदै आउनुभएको छ भने प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग पनि भेटघाट तीव्र बनाउनुभएको छ । आज कांग्रेसका सांसद रामहरि खतिवडाले सरकारका मन्त्रीको चर्को आलोचना गरेपछि गठबन्धनमा दरार आएको शङ्का गर्नेहरू झनै बलियो बनेका छन् ।

अन्तिम अपडेट: बैशाख १४, २०८१

तपाईको प्रतिक्रिया