सर्लाहीमा भएको दुर्घटनामा दुई जनाको ज्यान गयो

 फागुन १५, २०८० मंगलबार ९:५२:४१ | रामबाबु खड्का
unn.prixa.net

सर्लाही – सर्लाहीमा गएराति भएको दुर्घटना रौतहट घर भएका दुई जना युवाको ज्यान गएको छ । हुलाकी सडक अन्तर्गत कौडेना गाउँपालिका–३, मा भारतीय नम्बर प्लेटको एचआर ५९ ए ०१३१ नम्बरको जीप र भारतीय नम्बर प्लेटकै बीआर ०६ सी वाइ ५०८६ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किएर दुर्घटना भएको हो ।

दुर्घटनामा मोटरसाइकलमा रहेका रौतहट माधवनारायण नगरपालिका–६, घर भएका २३ वर्षीय शियानन्दन महतो र त्यहीँ ठाउँ घर भएका अर्का १९ वर्षीय अजय महतोको ज्यान गएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी नायब उपरीक्षक (डिएसपी) दिपेन्द्र पन्जियारले जानकारी दिनुभयो ।

दुर्घटनामा गम्भीर घाइते भएका उनीहरुलाई उपचारका लागि प्रादेशिक अस्पताल मलङ्गवा लैजाँदै गर्दा बाटोमा नै ज्यान गएको हो । दुर्घटनापछि प्रहरीले ठक्कर दिने जीपलाई नियन्त्रणमा लिएको छ । जीपका चालक फरार छन् । चालकको  खोजी भैरहेको प्रहरीले जनाएको छ । दुर्घटनाको कारण खुलेको छैन । तीव्र गतिका कारण दुर्घटना भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ ।

अन्तिम अपडेट: बैशाख १५, २०८१

रामबाबु खड्का

रामबाबु खड्का सर्लाहीका उज्यालो सहकर्मी हुन् ।

तपाईको प्रतिक्रिया