जानकारी नै नदिई मन्त्रीबाट हटाउँदा नराम्रो लाग्यो : सोडारी

 कात्तिक २८, २०७५ बुधबार १४:१९:५५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – सुदूरपश्चिम प्रदेशका सामाजिक विकासमन्त्रीबाट बर्खास्तीमा परेका नेकपा नेता दीर्घ सोडारीले आफूलाई जानकारी नै नदिई मन्त्री पदबाट बर्खास्त गर्दा नराम्रो लागेको प्रतिक्रिया दिनुभएको छ । 

‘आफूलाई बर्खास्त गर्न लागेको बारे जानकारी दिएको भए राजीनामा दिएर सहयोग नै गर्ने थिए’, सोडारीले भन्नुभयो, ‘तर जानकारी नै नदिई एक्कासि बर्खास्त गर्दा नराम्रो लाग्यो ।’

आफूलाई किन बर्खास्त गरियो भन्नेबारे आफूलाई केही पनि जानकारी नभएको सोडारीले बताउनुभयो । 

मन्त्रीको जिम्मेवारी पनि पार्टीले दिएको र अहिले फिर्ता बोलाउँदा पनि पार्टीले नै निर्णय गरेकाले पार्टीको निर्णय आफूले मान्ने उहाँले बताउनुभयो । ‘पार्टीको निर्णय मैले मात्रै होइन, सबैले मान्नु पर्छ’, उहाँले भन्नुभयो, ‘अबको दिनमा पनि मैले पार्टीको हितका लागि नै काम गर्ने छु ।’

आफ्नो साधारण सदस्यता खोसिएको भनेर पत्रपत्रिकामा आएको खबरबारे भने कुनै जानकारी नभएको उहाँले बताउनुभयो । आफूलाई नेताहरुले मन्त्रीको जिम्मेवारीबाट मात्रै हटाइएको जानकारी दिएको तर पार्टीको सदस्यबाटै हटाइएको भन्नेबारे भने कुनै जानकारी नभएको बताउनुभयो ।  

आफू अध्यक्ष भएका बेला पार्टीले पहिलोपटक कैलाली जिल्लामा विजय हात पारेको उहाँले बताउनुभयो । प्रदेश सरकारले ल्याएका लोकप्रिय कार्यक्रममा समेत आफ्नो योगदान महत्वपूर्ण रहेको उहाँको दावी छ । 

तर प्रदेश कमिटी अध्यक्ष कर्णबहादुर थापाले सोडारीले पद अनुकूलको आचरण नगरेको र पटक–पटक पार्टीको सुझाव अटेर गरेकाले पदबाट हटाइएको बताउनुभएको थियो ।

अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया