विश्वकै सबैभन्दा कम रहेको दक्षिण कोरियाको जन्मदर झनै घट्यो

 फागुन १६, २०८० बुधबार १८:२२:३ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

विश्वकै सबैभन्दा कम रहेको दक्षिण कोरियाको जन्मदर झनै घटेको छ । दक्षिण कोरियाले सार्वजनिक गरेको तथ्याङ्कअनुसार सन् २०२३ मा देशको जन्मदर आठ प्रतिशतले घटेर शून्य दशमलव ७२ प्रतिशतमा झरेको छ ।

हरेक वर्ष जन्मदर घटिरहेको दक्षिण कोरियामा सन् २०२२ को जन्मदर शून्य दशमलव ७८ प्रतिशत र सन् २०२१ मा शून्य दशमलव ८१ प्रतिशत थियो । विकसित देशको जनसङ्ख्या स्थिर राख्न प्रतिमहिला जन्मदर दुई दशमलव एक आवश्यक हुने विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले जनाएको छ ।

दक्षिण कोरियामा जन्मदर घट्ने क्रम यही गतिमा रहने हो भने अबको ५० वर्षमा काम गर्ने उमेरका मानिसको सङ्ख्या आधा हुने र सन् २१ सयसम्ममा जनसङ्ख्या नै आधा हुने भन्दै काेरियाली अधिकारीहरूले चिन्ता व्यक्त गरेका छन् । सन् २१ सयसम्ममा दक्षिण कोरियाको आधा जनसङ्ख्या ६५ वर्षमाथिको हुने देखिएको छ ।

यसले देशको अर्थतन्त्रसँगै निवृत्तीभरण र सामाजिक सुरक्षामा नराम्रो असर पुग्ने भन्दै दक्षिण कोरियाका राजनीतिज्ञहरूले यसलाई राष्ट्रिय सङ्कटकाल भनेका बीबीसीले जनाएको छ । दक्षिण कोरियाका महिलाहरूले कामको निरन्तर चक्रमा अड्किनुपर्दा आफूहरूसँग बच्चा जन्माउन पर्याप्त समय नभएको प्रतिक्रिया दिएका छन् ।

निरन्तर काम गर्न नसके आफू पछाडि परिने वा असफल हुने उनीहरूको तर्क छ । एक पुस्ताको अवधिमा गरिबीबाट विकसित देशको स्थितिमा पुगे पनि दक्षिण कोरियाको सामाजिक सुरक्षा कमजोर छ । तर बच्चा जन्माउनेहरूलाई भने नगद भुक्तानीसहितका सुविधा दिएर आकर्षित गर्न खोजे पनि प्रयास सफल भएको छैन ।

सन् २०२२ देखि दक्षिण कोरियाले बच्चा जन्मँदा आमालाई २० लाख कोरियाली वन अर्थात् एक हजार पाँच सय १० अमेरिकी डलर दिँदै आएको छ । त्यसपछि एक वर्षसम्म प्रत्येक महिना सात सय ५५ अमेरिकी डलर र दुई वर्षसम्म प्रत्येक महिना तीन सय ७७ अमेरिकी डलर दिने गर्छ ।

यस्तै प्राथमिक विद्यालय पढ्ने बेलासम्म प्रत्येक महिना एक सय ५१ अमेरिकी डलर दिने गर्छ । यसरी बच्चा जन्माउने दम्पतीलाई दक्षिण कोरियाले झन्डै १३ लाख रुपैयाँ बराबर नगद भुक्तानी दिए पनि जन्मदर घटिरहेको छ ।

चीन, जापानलगायत विश्वका अरू विकसित देशमा पनि जनसङ्ख्या घटिरहेको भए पनि दक्षिण कोरियाको जस्तो चरम सङ्कट अरू देशमा छैन ।

अन्तिम अपडेट: बैशाख १५, २०८१

तपाईको प्रतिक्रिया