गाजामा अत्यावश्यक सहायताका लागि पर्खिरहेका प्यालेस्टिनीमाथि आक्रमण

 फागुन १८, २०८० शुक्रबार ९:१८:१० | एजेन्सी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डौ – गाजाको  पश्चिम क्षेत्रमा अत्यावश्यक सहायता लिन पर्खिरहेका प्यालेस्टिनीको भेलामा इजरायली सेनाले आक्रमण गर्दा १ सय १२ जनाको ज्यान गएको छ । आक्रमणमा परी सात सय ६० जना घाइते भएका छन् । घाइतेहरूलाई अस्पताल लगे पनि डाक्टर र उपकरणको अभाव रहेकोले उपचारमा कठिनाइ भएको बीबीसीले जनाएको छ । प्यालेस्टिनीहरु इजरायली ट्याङ्क आएको देखेर लरीबाट ओर्लिएका थिए ।

त्यहीबेला इजरायली सेनाले चेतावनीको रुपमा मात्र गोली चलाएको जनाएको छ । तर प्यालेस्टिनीले सेनाले सिधै उनीहरुलाई आक्रमण गरेको आरोप लगाएका बीबीसीले जनाएको छ । गाजाको स्वास्थ्य मन्त्रालयले इजरायलको आक्रमणलाई 'नरसंहार' गरेको आरोप लगाएको छ ।

घटनाबारे छलफल गर्न संयुक्त राष्ट्र सुरक्षा परिषद्ले आपत्कालीन बैठक बोलाएको छ । फ्रान्सले खाना लगायत अत्यावश्यक सहायताका लागि आएका नागरिकहरू विरुद्ध इजरायली सैनिकले गरेको आक्रमण 'अनुचित' भएको बताएको छ ।

यस्तै अमेरिकी राष्ट्रपति जो बाइडेनले इजरायल र हमास बीचको युद्धमा अस्थायी युद्धविरामको मध्यस्थता गर्ने मध्यस्थकर्ताहरूको प्रयासलाई जटिल बनाउने चिन्ता व्यक्त गर्नुभएको छ। स्वास्थ्य सुरक्षाका लागि गाजामा रहेको मेडिकल च्यारिटी एमएसएफले यो डरलाग्दो घटना भएको भन्दै तत्काल र दिगो युद्धविरामको लागि आह्वान गरेको छ ।

अन्तिम अपडेट: बैशाख १५, २०८१

तपाईको प्रतिक्रिया