स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम अन्तरगत १० तहका ३७ योजनालार्इ ८ करोड

 कात्तिक २८, २०७५ बुधबार १६:५५:१५ | सुजता सुनुवार
unn.prixa.net

इलाम– स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमका लागि छुट्टिएको ८ करोड रुपैयाँ इलामका १० स्थानीय तहमा खर्च गरिने भएको छ । 

स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम (सञ्चालन कार्यविधि) नियमावली २०७५ अनुसार कार्यक्रम परामर्श समिति र कार्यक्रम निर्देशन समितिको बैठकले इलामका १० वटै स्थानीय तहमा त्यति बराबरको रकम खर्च गर्ने गरी निर्णय गरेको हो । 

झलनाथ खनालको २० याेजना

त्यस रकममध्ये इलाम क्षेत्र नं १ बाट प्रतिनिधिसभामा निर्वाचित झलनाथ खनालको क्षेत्र सूर्योदय नगरपालिकामा पूर्वाधार निर्माणका लागि एक करोड ४० लाख, माई नगरपालिकाका सात वडाका लागि ७० लाख, रोङ, सन्दकपुर र माइजोगमाई गाउँपालिकामा प्रति गाउँपालिका रु ६० लाख रपैयाँका दरले रकम छुट्याइएको छ ।

त्यस्तै इलाम नगरपालिकामा १० लाख रुपैयाँ विनियोजन गरिएको छ । बजेटसँगै क्षेत्र नम्बर १ का व्यवस्थापिका संसद सदस्य झलनाथ खनालले २० योजना छनोट गर्नु भएको छ । 

यसैगरी क्षेत्र नं २ का सांसद नेम्वाङले इलाम नगरपालिकाको लागि ९० लाख, देउमाई नगरपालिकाका लागि ८३ लाख, माई नगरपालिकामा ३२ लाख र फाकफोकथुम, चुलाचुली माङसेबुङ गाउँपालिकामा प्रति गाउँपालिका ६५ लाख रुपैयाँका दरले रकम विनियोजन गरिएको छ ।

सुवासचन्द्र नेम्वाङका १७ योजना

क्षेत्र नम्बर २ बाट प्रतिनिधित्व गरेका सांसद सुवासचन्द्र नेम्वाङले भने १७ योजना छनोट गर्नु भएको छ । 

स्थानीय पूर्वाधार विकास साझेदार कार्यक्रम सञ्चालन कार्यविधिले ५० लाख रुपैयाँभन्दा बढीको दुई योजना अनिवार्य छनोट गर्नुपर्ने व्यवस्था अनुरूप नै खनाल र नेम्बाङ्गले योजना छनोट गर्नु भएको बताइएको छ । 

त्यस अनुसार नै नेता खनालको क्षेत्र माई नगरपालिकाको लखनथापा चोकदेखि नगरपालिकासम्मको बाटो कालोपत्रे गर्नका लागि ७० लाख र सूर्योदय नगरपालिकाको विद्युतीकरणको लागि ५० लाख रुपैयाँ छुट्याइएको छ ।

यस्तै उपाध्यक्ष नेम्वाङको क्षेत्रमा भने पुवाखोलाको इन्टेकदेखि साङरूम्बा हुँदै गाग्रेभञ्याङ जोड्ने सडकको लागि ८० लाख र माङसेबुङ गाउँपालिकाको विद्युतीकरणको लागि ५० लाख रुपैयाँ छुट्याइएको कार्यक्रम परामर्श समिति र कार्यक्रम निर्देशन समितिले जनाएको छ  । 

संघीय सांसदले चार करोड रुपैयाँ बराबरको योजना कात्तिक ३० गतेभित्र छनोट गनर््पर्ने प्रावधान अनुरूप नेता खनाल र उपाध्यक्ष नेम्बाङ्गले बजेट तथा योजना छनोट गर्नु भएको बताइएको छ । 

अन्तिम अपडेट: बैशाख १०, २०८१

सुजता सुनुवार

सुजता सुनुवार उज्यालोमा कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया