ओखलढुंगाका आठ स्थानीय तहका ४७ वडा सचिवविहीन

 कात्तिक २८, २०७५ बुधबार १७:३५:४ | शिव ढुंगाना
unn.prixa.net

ओखलढुंगा– ओखलढुंगाका स्थानीय तहमा कर्मचारी अभाव भएपछि सेवा प्रवाह र कार्यसम्पादन प्रभावित हुँदै आएको छ ।

अहिले आठ स्थानीय तहका ७५ वडामध्ये ४७ वडा कार्यालयमा वडा सचिव छैनन् । विकासका काम तर परै जाओस् वडा सचिव नहुँदा स्थानीय तहबाट दैनिक सेवा प्रवाह पनि प्रभावित हुने गरेको हो ।

लिखु गाउँपालिकाका कुनै पनि वडामा वडा सचिव नै छैनन् । ९ वटा वडा रहेको उक्त गाउँपालिकामा वडा सचिवका लागि केन्द्रमा पटक–पटक ताकेता गर्दा पनि पार नलागेको गाउँपालिका अध्यक्ष गोविन्दबहादुर पौडेलले बताउनुभयो ।

उहाँका अनुसार गाउँपालिकामा वडा सचिव नहुँदा वडा सचिवले गर्ने कामका लागि कार्यविधि बनाएर करारमा सहायक कर्मचारी नियुक्ति दिएर वडा सचिवको कार्यभार जिम्मा दिइएको छ ।  लिखु गाउँपालिकाभरि विभिन्न पदका १ सय १६ जना कर्मचारी अभाव छ ।

भूगोलका हिसाबले जिल्लाकै दुर्गम मानिने खिजीदेम्बा गाउँपालिकामा आठ वडामध्ये २ वडामा मात्रै वडा सचिव छन् । गाउँपालिका अध्यक्ष बेदबहादुर रोकाका अनुसार वडा सचिव नहुँदा पञ्जिकरण, योजना सम्झौता तथा विभिन्न प्रशासनीक काम प्रभावित हुँदै आएको छ ।

१० वटा वडा रहेको चम्पादेवी गाउँपालिकामा ३ जना वडा सचिव छन् । यस्तै मानेभञ्ज्याङ गाउँपालिकामा ९ वडामध्ये २ वडामा मात्रै वडा सचिव छन् । वडा सचिव नहुँदा सुनकोसी गाउँपालिकाले करारका कर्मचारी तथा वडाध्यक्षबाटै कार्य सम्पादन गरिरहेको छ ।

१० वडामध्ये यो गाउँपालिकामा ३ वटा वडामा मात्रै वडा सचिव भएको गाउँपालिका अध्यक्ष रूद्रप्रसाद अधिकारीले बताउनुभयो । यस्तै सिद्धिचरण नगरपालिकामा १२ वडामध्ये ४ वटा वडामा वडा सचिव छैनन् ।

ओखलढुङ्गाको चिशंखुगढी गाउँपालिकामा भने ८ वडामध्ये ८ वटै वडामा वडासचिव रहेका छन् । वडा सचिव नभएका वडाहरूमा उनीहरूले गनुपर्ने सरजमिन मुचुल्का, अभिलेख दर्ता, घटना दर्तालगायतका काम समेत वडाध्यक्षले नै गर्नुपर्ने बाध्यता छ । 
 

अन्तिम अपडेट: बैशाख १०, २०८१

शिव ढुंगाना

शिव ढुंगाना ओखलढुंगाका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया