देशका सबैजसो ठाउँको मौसम बदली, बाग्मती प्रदेश सहित पश्चिमी क्षेत्रमा पानी पर्दै

 फागुन २०, २०८० आइतबार ६:२८:५१ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डौ – अहिले देशका सबैजसो ठाउँमा बदली भएर कर्णाली, लुम्बिनी, गण्डकी र बाग्मती प्रदेशको केही ठाउँमा पानी परिरहेको छ । अहिले देशमा पश्चिमी वायु सक्रिय रहेकोले पश्चिम नेपालमा पानी परिरहेको मौसम पूर्वानुमान् महाशाखाले जनाएको छ ।

पश्चिमी क्षेत्रमा हिजोदेखि नै पानी परेको हो । बितेको २४ घण्टामा गण्डकी प्रदेशभन्दा पश्चिमतर्फ धेरैजसो ठाउँमा पानी परेको छ । पछिल्लो २४ घण्टामा डडेल्धुरा, सुर्खेत लगायतका केही ठाउँमा ३० मिलिमिटरभन्दा धेरै पानी परेको छ भने मनाङ,बैतडी, दैलेख, कालिकोट लगायतका जिल्लामा पनि २० मिलिमिटर भन्दा धेरै पानी परेको छ ।

यसपालिको हिउँदमा औसत भन्दा निकै कम पानी परेकोमा पछिल्लो २४ घण्टामा पश्चिमी क्षेत्रमा राम्रो वर्षा भएको मौसमविद् रोजन लामिछानेले बताउनुभयो । आज दिउँसो देशभर नै बदली भएर सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी, बाग्मती प्रदेश सहित कोशी प्रदेशका पहाडी भू–भागमा सामान्यदेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान् महाशाखाले जनाएको छ ।

बाँकी भूभागमा पनि छिटपुट पानी पर्ने सम्भावना रहेको छ । उच्च पहाडी तथा हिमाली क्षेत्रका धेरैजसो ठाउँमा हिमपातको सम्भावना छ । भरे राति  कोशी, मधेश, सुदूरपश्चिम र कर्णाली प्रदेशका केही ठाउँमा वर्षा तथा हिमाली क्षेत्रमा हिमपातको सम्भावना छ ।

आज र भोलि पहाडी भूभागमा चट्याङ तथा हिमाली क्षेत्रका केही ठाउँमा बाक्लो हिमपात हुन सक्ने भएकोले सावधानी अपनाउन महाशाखाले अनुरोध गरेको छ । भोलिदेखि मौसम सुधार हुन थाल्ने मौसमविद् रोजन लामिछानेले बताउनुभयो ।

अन्तिम अपडेट: जेठ २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया