त्रिशुलीमा बस खस्दा ज्यान गुमाउनेको सङ्ख्या ७ पुग्यो : ४१ जनाको उद्धार

 फागुन २३, २०८० बुधबार १२:१२:४२ | सिताराम अधिकारी
unn.prixa.net

धादिङ – धादिङको घाटबेँसीबाट त्रिशुली नदीमा बस खस्दा ज्यान गुमाउनेको सङ्ख्या ७ पुगेको छ । ४१ जना यात्रुको उद्धार गरिएको छ । उनीहरुमध्ये १४ जनालाई थप उपचारका लागि काठमाण्डौ पठाइएको छ ।

अरुहरुको गजुरी प्राथमिक स्वास्थ्य केन्द्र र गजुरी अस्पतालमा उपचार भैरहेको छ । कपिलवस्तुबाट काठमाण्डौका लागि छुटेको लु२ख २१२१ नम्बरको बस बिहान ४ बजेर ४० मिनेटमा धादिङको गजुरी गाउँपालिका–५ घाटबेँसीमा दुर्घटना भएको हो ।

बसमा ५१ जना यात्रु र चालक रहेको प्रारम्भिक विवरण छ । जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायब उपरीक्षक तथा सूचना अधिकारी सन्तुलालप्रसाद जैसवारका अनुसार एक महिला र ६ जना पुरुषसहित ७ जनाको शव फेला परेको छ ।

ज्यान गुमाउनेको परिचय खुल्न सकेको छैन । त्रिशुली नदीमा बस छत मात्रै देखिएको अवस्थामा डुबेको छ । दुर्घटनापछि घाटबेँसीका स्थानीय बासिन्दा, इलाका प्रहरी कार्यालय गजुरी, सशस्त्र प्रहरीलगायतले घाइतेहरुको उद्धार गरेका छन् ।

बसचालक रुपन्देही लुम्बिनी संस्कृति नगरपालिका–९ का ३८ वर्षीय हरिराम हरिजनलाई प्रहरीले पक्राउ गरेको छ ।  

अन्तिम अपडेट: बैशाख १५, २०८१

सिताराम अधिकारी

धादिङका पत्रकार सिताराम अधिकारी उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया