दक्षिण कोरियाका राष्ट्रपति युनद्वारा भ्रष्टाचार नियन्त्रण निकाय स...
पुस ३, २०८१ बुधबार
लमजुङ – सुन्दरबजार नगरपालिकाको कृषि शाखाले किसानलाई अनुदानमा आलुको बीउ वितरण गरेको छ । शाखाले नगरपालिकाभित्र रहेका ११ वटै वडाका किसानलाई ५० प्रतिशत अनुदानमा आलुको बीउ वितरण गरेको हो ।
उर्वर खेतबारी बाँझै राख्ने, आयतित आलु किनेर खाने प्रवृत्ति बढ्दै गएकाले किसानलाई आत्मनिर्भर बनाउन अनुदानमा आलुको बीउ वितरण गरिएको सुन्दरबजार नगरपालिका कृषि शाखाका प्रमुख रामचन्द्र सेढाइँले जानकारी दिनुभयो ।
‘आयतित आलु किनेर खाने बढे । खेतबारी बाँझै राख्ने प्रवृत्ति बढ्यो । जग्गाको पनि उपयोग हुने, आफैँले उत्पादन गर्न सके बाहिरको आलु किनेर खाने पैसा समेत जोगिने । त्यसैले उनीहरुलाई आत्मनिर्भर बनाउनकै लागि हामीले किसानलाई आलुको बीउ वितरण गरेका हौँ,’ उहाँले भन्नुभयो ।
उहाँका अनुसार किसानलाई आलुको बीउमा ५० प्रतिशत अनुदान दिइएको छ । ढुवानीमा सतप्रतिशत अनुदान दिइएको छ ।
शाखाले आलुको बीउ खरिद र वितरणको जिम्मा स्थानीय ३ कृषि सहकारीले पाएका थिए । अन्नपूर्ण कृषि सहकारीले वडा सुन्दरबजार नगरपालिकाको नं ७, ८, ९, साना किसान कृषि सहकारीले वडा नं १, २, ५, ६ र पाउँदी सेरोफेरो कृषि सहकारीले वडा नं ३, ४, १० र ११ वितरण गर्ने जिम्मा लिएका थिए । उनीहरुले सम्बन्धित वडाको समन्वयमा स्थानीय किसानलाई आलुको बीउ वितरण गरिरहेका छन् ।
किसानलाई एमएस–४२ र जनकदेव जातको आलुको बीउ वितरण गरिएको हो । प्रतिकेजी ४६ रुपैयाँ पर्ने एमएस–४२ जातको आलुको बीउ किसानले अनुदानमा प्रतिकेजी २३ रुपैयाँमा पाएका छन् । प्रतिकेजी ५६ रुपैयाँ पर्ने जनकदेव जातको आलुको बीउ किसानले अनुदानमा प्रतिकेजी २८ रुपैयाँ तिरेका छन् ।
‘नगरपालिकाको वार्षिक कार्यक्रम अनुसार नै आलुको बीउ वितरण गरिएको हो । यो कार्यक्रम कृषि शाखाको ५ लाख र किसानको ५ लाख गरी १० लाख बराबरको हो । ढुवानीमा हामीले पुरै अनुदान दिएका छौँ,’ रामचन्द्रले भन्नुभयो ।
कृषि शाखाका प्रत्येक वडाले २२ क्विन्टलका दरले आलुको बीउ पाएका छन् । अनुदानमा उन्नत जातको आलुको बीउ घर आँगनमै पाउँदा किसानहरु खुशी भएको सुन्दरबजार नगरपालिका वडा नं ९ का वडासदस्य अमोल खनालले बताउनुभयो ।
‘राम्रो जातको आलुको बीउ सस्तोमै पाईयो । हामी खुशी छौँ,’ खुशी हुँदै स्थानीय किसान बुद्कुमारी गुरुङले भन्नुभयो । आलुको बीउ वितरणका साथै किसानलाई आलु खेतीसम्बन्धी जानकारी गराइएको समेत सुन्दरबजार कृषि शाखाले जनाएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।