दक्षिण कोरियामा डाक्टरको आन्दोलनपछि सैन्य डाक्टर परिचालन

 फागुन २८, २०८० सोमबार १८:१८:१७ | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

दक्षिण कोरियाली सरकारले प्रदर्शनमा सहभागी हजारौँ डाक्टरको ठाउँमा सैन्य डाक्टरहरूलाई परिचालन गरेको छ । स्वास्थ्य उपमन्त्री जुन ब्युङ्–वाङले एक सय ६० जना सैन्य डाक्टरलाई २० वटा गैरसैनिक अस्पतालमा परिचालन गरेको बताउनुभएको बीबीसीले जनाएको छ ।

मेडिकल शिक्षा लिने विद्यार्थीको सङ्ख्या धेरै बढाउने सरकारी योजनाको विरोध गर्दै गएको महिनादेखि डाक्टरहरूले हड्ताल शुरु गरेका थिए । हड्तालमा तल्लो दर्जाका ७५ प्रतिशत डाक्टरहरू सहभागी भएको बताइएको छ । हड्तालका कारण ठूला शिक्षण अस्पतालहरूमा सेवा प्रभावित भएका छन् ।

केही ठूला अस्पतालहरूका ४० प्रतिशतभन्दा बढी कर्मचारी प्रशिक्षार्थी तथा कनिष्ठ चिकित्सकहरू हुन्छन् । त्यसैले आन्दोलनका कारणले केही अस्पतालहरूमा शल्यक्रिया गर्ने क्षमता आधाले घटेको बताइएको छ । सरकारले पाँच हजार जना डाक्टरलाई उनीहरूको मेडिकल लाइसेन्स स्थगन गर्ने सूचना दिएको छ ।

सरकारी अधिकारीहरूले वृद्धवृद्धाको सङ्ख्या द्रूत गतिमा बढिरहेकोले थप डाक्टर चाहिएकोले विद्यार्थी सङ्ख्या बढाउनुपरेको बताएको छ । अरू विकसित देशहरूको तुलनामा दक्षिण कोरियामा बिरामीको अनुपातमा डाक्टरको उपलब्धता निकै कम छ ।

अन्तिम अपडेट: बैशाख १४, २०८१

तपाईको प्रतिक्रिया