गाजा युद्धमा भोकमरी एउटा ‘अस्त्र’ को रूपमा प्रयोग भइरहेको छ : युरोपेली सङ्घ

 फागुन ३०, २०८० बुधबार १५:१८:२४ | एजेन्सी
unn.prixa.net

युरोपेली सङ्घ (ईयू) ले गाजा युद्धमा भोकमरी एउटा अस्त्रको रूपमा प्रयोग भइरहेको आरोप लगाएको छ । ईयूका विदेश नीति प्रमुख जुजेप बूरेलले गाजामा सहायता सामग्री पुग्न नदिनुलाई मानवसिर्जित विपद्को सङ्ज्ञा दिनुभएको बीबीसीले जनाएको छ । इजरायलले उपयोगी स्थलमार्गहरू उपलब्ध नगराउँदा गाजामा मानवीय सङ्कट उत्पन्न भएको उहाँले बताउनुभयो ।

गाजामा सहायता सामग्री पुर्‍याउन सबैभन्दा छिटो र प्रभावकारी माध्यम सडक मार्ग भए पनि त्यहाँबाट आवश्यकताको सानो हिस्सा मात्र सहयोग पुग्न सकिरहेको छ । गाजामा विद्रोही समूह हमास नियन्त्रित स्वास्थ्य मन्त्रालयले बितेको दुई हप्तामा कम्तीमा २७ जना बालबालिकाले कुपोषण र पर्याप्त झोल पदार्थ नपाउँदा ज्यान गुमाएको बताएको छ ।

यस्तै संयुक्त राष्ट्र सङ्घले गाजामा कम्तीमा पाँच लाख ७६ हजार मानिस भोकमरीको चपेटामा पर्नबाट अब एक पाइला मात्रा टाढा रहेको चेतावनी दिएको छ ।

गएको अक्टोबर ७ देखि शुरु भएको युद्धमा गाजामा ३१ हजार एक सय ८० जनाभन्दा बढी मानिसको ज्यान गइसकेको छ । पछिल्लो समय अमेरिका, कतार र इजिप्टका मध्यस्थकर्ताहरूको सहभागितामा हप्तौँसम्म वार्ता चले पनि युद्धविराम वा बन्धक साटासाट गर्ने विषयमा दुई पक्षबीच अहिलेसम्म सहमति जुट्न सकेको छैन ।

अन्तिम अपडेट: बैशाख १५, २०८१

तपाईको प्रतिक्रिया