देशैभरीको तापक्रम बढ्दै , भैरहवाको अधिकतम तापक्रम ३४ दशमलव ५ डिग्री पुग्यो

 चैत १, २०८० बिहिबार ९:३३:३७
unn.prixa.net

काठमाण्डौ – देशभर तापक्रम बढ्न थालेको छ । तराईका केही ठाउँमा गर्मीले जनजीवन नै प्रभावित हुन थालेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हिजो भैरहवाको अधिकतम  तापक्रम ३४ दशमलव ५ डिग्री सेल्सियस पुगेको थियो । यस्तै, जनकपुरमा पनि तापक्रम ३४ दशमलव ४ डिग्री सेल्सियस पुगेको छ । धनगढी, विराटनगर, वीरगञ्ज लगायतका सहरको तापक्रम ३२ डिग्री हाराहारी पुगेको महाशाखाका मौसमविद् सञ्जिव अधिकारीले जानकारी दिनुभयो ।

काठमाण्डौ उपत्यकामा पनि आज अधिकतम तापक्रम २७ देखि २९ डिग्रीसम्म पुग्ने अनुमान छ । काठमाण्डौको न्यूनतम तापक्रम बढेर ९ डिग्री सेल्सियसमा पुगेको छ । अब पानी परे पनि सबैतिरको तापक्रम बढ्दै जाने मौसमविद् अधिकारीको भनाइ छ ।

यसैबीच पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभावले आज केही ठाउँमा बदलीसँगै हल्का वर्षाको सम्भावना रहेकोे मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार अहिले बिहान कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भेगमा आंशिक बदली भएको छ । बाँकी ठाउँको मौसम सामान्यतया सफा रहेको छ । दिउँसो सुदूरपश्चिम प्रदेश लगायत देशको पहाडी भेगमा आंशिकदेखि साधारणतया बदली रहनेछ ।

आज गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भेगका एक–दुई ठाउँमा छिटपुटदेखि हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । उच्च पहाडी तथा हिमाली भेगका एक–दुई ठाउँमा हल्का हिमपातको सम्भावना रहेको छ । महाशाखाका अनुसार आज लुम्बिनी प्रदेशका केही ठाउँमा हावा–हुरीको समेत सम्भावना रहेको छ ।

अन्तिम अपडेट: बैशाख १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया