कर्णाली पुलको अध्ययन र मर्मत सम्भारको लागि जनशक्ति अभाव

 चैत १, २०८० बिहिबार ९:३७:२ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डौ – पूर्व पश्चिम राजमार्ग अन्तर्गत कर्णाली चिसापानी पुलको अध्ययन र मर्मत सम्भारको लागि नेपालमा जनशक्तिको अभाव रहेको छ । पुल जापान सरकारले बनाइदिएको र अमेरिकाको इञ्जिनियरिङ प्रयोग भएकाले नेपालमा यसको अध्ययन र मर्मत सम्भारका लागि विज्ञ र कामदारको समेत अभाव रहेको सडक विभागका उपमहानिर्देशक तथा पुल महाशाखाका प्रमुख ललिजन खनालले उज्यालोलाई जानकारी दिनुभयो । २०५० सालमा पुल निर्माण गर्दा प्राविधिक जनशक्ति र मर्मत सम्भारकोबारेमा जापानसँग कुनै सम्झौता नभएकाले अहिले समस्या भएको उहाँको भनाइ छ ।

यसैबीच, सडक विभागको प्राविधिक टोलीले आगलागीबाट क्षति भएको कर्णाली चिसापानी पुलको स्थलगत अवलोकन र अध्ययन सकेको छ । टोलीले हिजो बेलुका अवलोकन र प्रारम्भिक अध्ययन सकेको र आज प्रतिवेदन बनाएर बेलुकासम्म विभागलाई बुझाउने उपमहानिर्देशक तथा पुल महाशाखाका प्रमुख ललिजन खनालले उज्यालोलाई जानकारी दिनुभयो ।

टोलीले पिलर र पुललाई जोड्ने तार, गाडी गुड्ने सतह र पुललाई टेवा दिएका संरचनाको अध्ययन गरेको छ । प्रारम्भिक अध्ययनमा तारलाई सुरक्षित राख्न प्रयोग भएका रबर मात्रै जलेको र तार सुरक्षित रहेको देखिए पनि विस्तृत जानकारी भने प्रतिवेदनपछि मात्रै पाइने खनालको भनाई छ । उहाँले अझै एक,दुई दिन कर्णाली चिसापानी पुलबाट गाडी नचल्ने पनि जानकारी दिनुभयो । 

यसको विकल्पमा कोठियाघाट र सतिघाटको पुल प्रयोग गरेर गाडी चलिरहेका छन् । प्रतिवेदनको अध्ययन र विज्ञ लगायतसँग छलफल र सल्लाह गरी पुलको अवस्था, पुलको क्षतिको विवरण, मर्मत सम्भार गर्नुपर्ने वा थप के गर्ने भन्नेबारे निर्क्यौल हुने खनालले बताउनुभयो । गएकाे साेमवार ट्रकमा एक्कासी आगलागी हुँदा कर्णाली पुलका १४ वटा डोरीमा आंशिक क्षति पुगेको थियो ।

अन्तिम अपडेट: बैशाख १५, २०८१

तपाईको प्रतिक्रिया