गाजामा रहेको राष्ट्रसङ्घको सहायता शिविरमा फेरि इजरायलकाे आक्रमण

 चैत १, २०८० बिहिबार १०:२:१ | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

काठमाण्डौ – इजरायलले गाजामा रहेको संयुक्त राष्ट्रसङ्घको सहायता शिविरमा फेरि आक्रमण गरेको छ । प्यालेस्टिनी शरणार्थी एजेन्सीले गाजापट्टीको दक्षिणी भागमा रहेको रफाहमा इजरायली सेनाले खाद्य वितरण केन्द्रमा आक्रमण गर्दा एक कर्मचारीको ज्यान गएको र २२ जना घाइते भएको बताएको छ ।

संयुक्त राष्ट्रसङ्घको सहायता एजेन्सी युएनआरडब्लुएका प्रमुख फिलिप लाजारिनीले इजरायलले सारा अन्तर्राष्ट्रिय मानवीय कानूनको अवहेलना गर्दै सहायता एजेन्सीमाथि आक्रमण गरेको बताउनुभएको बीबीसीले जनाएको छ । यस्तै, खानाको खोजीमा लाइनमा बसेकाहरुमाथि पनि इजरायलले आक्रमण गर्दा आज मात्रै ६ जनाको ज्यान गएको खबरमा उल्लेख छ ।

रफाहमा १५ लाख जना प्यालेस्टाइनीहरू छन् । गाजाको अन्य भाग इजरायलले ध्वस्त बनाएपछि धेरै शरणार्थी रफाहमा पुगेका छन् । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टेनियो गुटरेजले इजरायलको यो आक्रमणले गाजाका नागरिकलाई अझै गहिरो नर्कमा पुर्याउन सक्ने चेतावनी दिनुभएको छ ।

गएको अक्टोबर ७ तारिखमा १२ सय जनाको ज्यान जानेगरी हमासले इजरायलमा आक्रमण गरेपछि इजरायलले गाजामा अन्धाधुन्ध आक्रमण गरेको छ । अहिलेसम्म झण्डै ३२ हजार जनाको ज्यान गएको छ ।  गाजाका अस्पताल र सहायता केन्द्रसहित पुरै क्षेत्र लगभग ध्वस्त भएको छ ।

युएनआरडब्लुएकी प्रवक्ता जुलियट टुमाले खाना र अन्य महत्वपूर्ण आपूर्तिहरूको लागि काम गरिरहेका कर्मचारीमाथि आक्रमण हुनु निकै अमानवीय कार्य भएको बताउनुभएको छ । युएनआरडब्लुएले गाजामा आफ्ना १३ हजार जना कर्मचारीमध्ये कम्तीमा १६५ जनाको ज्यान गएको बताएको छ । 

अन्तिम अपडेट: बैशाख १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया