सङ्घीय निजामती सेवा विधेयक प्रतिनिधि सभामा पेस

 चैत १, २०८० बिहिबार १५:०:५९ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डौ — सङ्घीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०८० प्रतिनिधि सभामा पेस भएको छ ।

आज बसेको प्रतिनिधि सभा बैठकमा सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री भानुभक्त जोशीले सङ्घीय निजामती विधेयक पेस गर्नुभएको हो । यो विधेयक प्रतिनिधि सभामा गएको फागुन २१ गते दर्ता भएको थियो ।

प्रतिनिधि सभा नियमावलीको नियम १०७ अनुसार प्रतिनिधि सभाको अर्को बैठकमा विधेयकमाथिको सामान्य छलफल हुन सक्नेछ । विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्तावमाथि सभामा छलफल भएर अगाडि बढेपछि सांसदहरूले संशोधन दर्ता गर्न सक्छन् । सांसदहरूको संशोधनसमेत राखेर विधेयकमाथि दफावार छलफल हुनेछ ।

यो विधेयकमा नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले विरोधको सूचना राख्नुभएको थियो, त्यस क्रममा सांसद सुवालले उठाएका प्रश्नहरूको जवाफ दिँदै सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री जोशीले सङ्घीयता कार्यान्वयनका लागि यो विधेयक आवश्यक रहेको बताउनुभयो ।

विधेयकले कर्मचारीलाई राजनीतिकरूपमा मुक्त बनाउने लगायतका उद्देश्य रहेको पनि उहाँले बताउनुभयो । प्रशासनिक सङ्घीयताको मूल कानुन निर्माणका लागि विधेयक तयार पारिएको हो ।

यसअघि एमाले अध्यक्ष केपी ओली नेतृत्वको सरकारले २०७५ सालको माघमा प्रतिनिधि सभामा दर्ता गरेको निजामती विधेयक फिर्ता भएपछि लामो समयको कसरतमा आज दोस्रो पटक दर्ता भएको हो । सङ्घीयता कार्यान्वयनमा आएपछि निजामतीसम्बन्धी ऐन बन्न नसक्दा प्रशासनीक सङ्घीयता कार्यान्वयन हुन नसकेको आवाज उठ्दै आएको छ ।

अन्तिम अपडेट: बैशाख १०, २०८१

तपाईको प्रतिक्रिया