पाेखरा ‘पर्यटकीय राजधानी’ घाेषणा

 चैत ४, २०८० आइतबार १४:४४:४८ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पोखरालाई नेपालको पर्यटकीय राजधानी घोषणा गर्नुभएको छ ।

फेवाताल छेउको बाराहीघाटमा आज आयोजित समारोहमा प्रधानमन्त्री प्रचण्डले पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्नुभएको हो । त्यसअघि प्रधानमन्त्रीले पर्यटन राजधानीको लोगो सार्वजनिक तथा स्मृति स्तम्भ अनावरण गर्नुभएको थियो ।

पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले राजधानी घोषणासँगै अल्पकालीन, मध्यकालीन र दीर्घकालीन योजनाका साथ तीनै तहका सरकारले काम गर्ने बताउनुभयो । पोखराको पर्यटनमा झन्डै सात खर्ब रुपैयाँ लगानी भएको र पर्यटन राजधानी घोषणाले पर्यटन पूर्वाधार निर्माणमा थप ध्यान पुग्ने अपेक्षा छ ।

पोखरामा अब व्यापार व्यवसाय राति एक बजेसम्म सञ्चालन गर्न पाइनेछ । त्यसैगरी केही निश्चित व्यवसाय मापदण्ड पूरा गरेर २४ सै घण्टा खुला गर्न पाइने कास्कीका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले जानकारी दिनुभयो ।

यसैबीच पोखरा पर्यटन परिषद्ले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडानको मागलगायतका विषयमा प्रधानमन्त्री प्रचण्डलाई मागपत्र बुझाएको छ । पोखरा जोड्ने मुख्य सडकहरूको अवस्था विकराल रहेको र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट अहिलेसम्म अन्तर्राष्ट्रिय उडान नियमित हुन नसकेको भन्दै परिषद्ले ध्यानाकर्षण गराएको हो । परिषद्ले छिटो उडान सञ्चालनको अनुरोधसमेत गरेको छ ।

अन्तिम अपडेट: बैशाख १५, २०८१

तपाईको प्रतिक्रिया