महोत्तरीका तत्कालीन वन अधिकृतसहित २४ जनाविरुद्ध भ्रष्टाचारकाे मुद्दा दायर

 चैत ४, २०८० आइतबार १८:३२:३३ | रासस
unn.prixa.net

काठमाण्डौ – डिभिजन वन कार्यालय महोत्तरीका तत्कालीन डिभिजनल वन अधिकृत हेमन्तप्रसाद साहसहित २४ जनाविरुद्ध भ्रष्टाचारकाे मुद्दा दायर भएको छ । वडाध्यक्ष, उपभोक्ता समितिका पदाधिकारी लगायतलाई प्रतिवादी बनाइ आज विशेष अदालतमा मुद्दा दर्ता गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ ।

आरोपितले ११ लाख ९६ हजार ६ सय ९५ रुपैयाँको सरकारी सम्पत्ति हानी/नोक्सानी गरेको आरोपपत्रमा उल्लेख छ । भ्रष्टाचार निवारण ऐन २०५९ को दफा १७ बमोजिम हानी/नोक्सानी भएको बिगो असुल उपर मागदाबी लिइ मुद्दा दायर गरिएको आयोगका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिनुभयो ।

आयोगले रम्तेलडाँडा सामुदायिक वन उपभोक्ता समितिका तत्कालीन उपाध्यक्ष उमादेवी बुढाथोकी, कोषाध्यक्ष प्रेमबहादुर थापा, सचिव धनकुमारी मगर, सदस्य उर्मिला थापा मगर र पूर्णबहादुर सुस्लिङलाई प्रतिवादी बनाएको छ । त्यसैगरि महोत्तरीको बर्दिबास नगरपालिका–१ का जग्गाधनीद्वय लीलामणि आचार्य र कृष्णप्रसाद गौतम, रम्तेलडाँडा सामुदायिक वनका उपभोक्ताद्वय एमबहादुर थापा मगर र नन्दमाया खनाल तथा रुख कटानमा संलग्न सिन्धुलीको सुनकोशी गाउँपालिका–४ का सन्दीप नेपालीलाई समेत प्रतिवादी बनाइएको छ ।

यस्तै सब–डिभिजन वन कार्यालय महोत्तरीका तत्कालीन सहायक वन अधिकृत लक्ष्मणप्रसाद यादव, फरेस्टर  सन्तोषकुमार साह, वनरक्षकहरु राजकिशोर झा, अजयकुमार यादव, राकेशकुमार यादव, नारायण ढुङगेल र दिलीप महतोले पनि भ्रष्टाचार गरेको आरोपपत्रमा उल्लेख छ । नापी कार्यालय महोत्तरीका तत्कालीन अमिन रामदरश राउत र मालपोत कार्यालय  महोत्तरीका तत्कालीन नायब सुब्बा ओमप्रकाश खड्कासमेत आरोपित छन् ।

अन्तिम अपडेट: बैशाख १४, २०८१

तपाईको प्रतिक्रिया