तेह्रथुम आगलागी : १६ वटा घर नष्ट, केही ठाउँमा अझै आगाे लाग्दै

 चैत ४, २०८० आइतबार १८:२७:१६ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर : सामाजिक सञ्जाल

काठमाण्डाै – तेह्रथुमको फेदाप गाउँपालिका–१ टारी र बाजाघरमा आगलागी हुँदा १६ वटा घर जलेर नष्ट भएका छन् ।

आगलागी भएको गाउँ जङ्गल नजिक, सुखा क्षेत्र हुनुका साथै हावाको वेग तीव्र गतिमा चल्दा आगो निभाउन कठिन भइरहेकाे फेदाप गाउँपालिकाका अध्यक्ष केशवप्रसाद भेटवालले जानकारी दिनुभयाे । अझै केही घरमा आगो लागिरहेको र प्रहरी, सशस्त्र प्रहरीसहित स्थानीयवासीले आगो निभाउने प्रयास गरिरहेका अध्यक्ष भेटवालले बताउनुभयाे । आगलागीबाट केही पशुचाैपाया मरे पनि यकिन विवरण आइसकेकाे छैन ।

गाउँका धेरैजसो घरमा खरकाे छानाे भएका कारण आगाे निभाउन गाह्राे भएकाे र केही ठाउँमा अझै पनि आगाे लागिरहेकाे भेटवालले बताउनुभयो । तमोर र खोरुङ्गा खोलाको दोभानबाट सल्किएको आगो गाउँमा आएको उहाँकाे भनाइ छ । फेदापकाे टारी र बाजाघरमा गरी झण्डै एक सय वटा घर रहेका छन् ।

अन्तिम अपडेट: बैशाख १५, २०८१

तपाईको प्रतिक्रिया