एक घण्टाभित्रमा श्रम स्वीकृति दिने व्यवस्था गर्न श्रममन्त्रीको निर्देशन

 चैत ५, २०८० सोमबार ९:१:१९ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डौ – श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले एक घण्टाभित्रमा श्रम स्वीकृति दिने गरी वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणाली (फेमिस) को सुधार गर्न निर्देशन दिनुभएको छ ।

फेमिस प्रणाली आपूर्तिकर्ता, मन्त्रालयको सूचना प्रविधि शाखा र परामर्शदातासँग छलफल गर्दै मन्त्री अर्यालले आउँदो शुक्रवारदेखि एक घण्टाभित्र श्रम स्वीकृति दिने गरी प्रणालीको सुधार गर्न निर्देशन दिनुभएको उहाँको सचिवालयले जनाएको छ ।

वैदेशिक रोजगारीको काम कारबाहीलाई प्रविधिमैत्री बनाउन वैदेशिक रोजगार विभागले फेमिस प्रणाली प्रयोगमा ल्याएको छ । तर यो प्रणालीमा आउने समस्याका कारण श्रमिकले समयमै श्रम स्वीकृति नपाउँदा थप आर्थिक भार खेप्नुपरेको गुनासो छ ।

यसै समस्यालाई समाधान गर्न मन्त्री अर्यालले फेमिस प्रणालीमा तत्काल सुधार गर्न निर्देशन दिनुभएको हो । मन्त्री अर्यालले संसारको कुनै पनि कुनाबाट श्रम स्वीकृतिका लागि श्रमिकले आवेदन दिँदा एक घण्टाभित्रमा श्रम स्वीकृति दिन सक्ने गरी प्रणाली सुधार गर्न निर्देशन दिनुभयो ।

मन्त्रालयको सूचना प्रविधि परामर्शदाताले विगत एक हप्तादेखि फेमिस प्रणालीको निगरानी गरिरहेको छ । 

अन्तिम अपडेट: बैशाख १५, २०८१

तपाईको प्रतिक्रिया