झण्डै ६ वर्षपछि उपल्लो डोल्पामा चामल पठाउन शुरु

 चैत १३, २०८० मंगलबार १२:६:५५ | रासस
unn.prixa.net

तस्बिर : रासस

डोल्पा – झण्डै ६ वर्षअघि कोरोना भाइरसको सङक्रमण जोखिमका कारण उपल्लो डोल्पामा रोकिएको चामल ढुवानी यसपालीदेखि शुरु भएको छ । उपल्लो डोल्पामा चालु आर्थिक वर्षदेखि चामल पठाउन शुरु गरिएको हो । शे–फोक्सुण्डो गाउँपालिकाको साल्दाङ र डोल्पोबुद्ध गाउँपालिकाको धोमा खाद्यान्न ढुवानी भएको छ ।

साल्दाङमा पाँच सय क्विन्टल र धोमा एक सय पाँच क्विन्टल चामल सुर्खेतबाट उपल्लो डोल्पामा पुर्याइएको छ । साल्दाङमा प्रतिकिलो ९५ र धोमा ९४ रुपैयाँमा बिक्री हुने गरेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी, कर्णाली प्रदेश कार्यालयले जनाएको छ ।

डोल्पाको जुफाल, सहरतारा र दुनै शाखामा पनि चामल पठाइएको छ । कम्पनीले कुपोषणको समस्या भोगिरहेका कर्णालीका डोल्पा, कालीकोट, हुम्ला, मुगु र जुम्लामा ७३ हजार क्विन्टल पोषणयुक्त चामल बिक्री गर्न थालेको छ ।

हुम्लामा एक हजार नौ सय २०, मुगुमा एक हजार एक सय ७३, जुम्लामा एक सय ३०, डोल्पामा पाँच सय ३५, कालीकोटमा एक सय ५० क्विन्टल गरी झण्डै चार हजार क्विन्टल पोषणयुक्त चामल बिक्रीका लागि पठाइएको कम्पनीका कर्णाली प्रदेश निमित्त प्रमुख माधव मिश्रले जानकारी दिनुभयो ।

स्तरोन्नति गरिएको पोषणयुक्त चामलमा आइरन, जिङ्क, भिटामिन ए, फोलिक एसिड, भिटामिन बी–१२ लगायत मिसाएर तयार गरिन्छ । हुम्लामा जहाजबाट चामल ढुवानी हुने गरेको छ ।   

अन्तिम अपडेट: बैशाख १५, २०८१

तपाईको प्रतिक्रिया