‘केयर गिभरमा गएका धेरै नेपाली इजरायली समुदायमा परिवार जस्तै भएका बसेका छन्’

 असोज २८, २०८० आइतबार १६:५७:३५ | रासस
unn.prixa.net

काठमाण्डाै – नेपाल सरकारले युद्धकै अवस्थामा रहेको इजरायलबाट दुई सय ५४ जना नेपालीलाई उद्धार गरी गएकाे बिहीवार स्वदेश फर्काएको छ । मन्त्रिपरिषद्को निर्णयअनुसार परराष्ट्रमन्त्री नारायणप्रकाश (एनपी) साउदसहितकाे टाेली नेपालीलाई उद्धार गर्न नेपाल एअरलाइन्सको चार्टर्ड उडानमार्फत इजरायल गएको थियो । यही असोज २० गते इजरायलमाथि प्यालेस्टिनीको हमास समूहले गरेको आक्रमणमा परि १० जना नेपाली विद्यार्थी मारिएका थिए भने चार जना घाइते भएका थिए । त्यही आक्रमणमा परेका विद्यार्थी विपिन जोशीको अवस्था अझै थाहा हुन सकेकाे छैन । मन्त्री साउदले जोशीको खोजीका लागि इजरायल सरकार र अन्य देशसँग समेत कुटनीतिक पहल भइरहेको बताउनुभएको छ । यसै सन्दर्भमा केन्द्रित रहेर मन्त्री साउदसँग गरिएकाे कुराकानीको अंश :

इजरायल घट्नाक्रमपछि नेपालीको उद्धारका लागि सरकारले के कस्ता प्रयास गरिरहेको छ ?

इजरायलमा प्यालेस्टिनी हमास समूहको आक्रमणबाट सयौँ नागरिकको हताहती भयो । 'लर्न एन्ड अर्न' कार्यक्रममार्फत इजरायल गएकामध्ये १० जना विद्यार्थीले आक्रमणमा परि मारिएका छन् । घाइते भएका चार नेपाली विद्यार्थीमध्ये एक जना अस्पतालबाट 'डिस्चार्ज' भएर नेपाल आइसक्नुभएको छ भने अन्य उपचाररत हुनुहुन्छ । इजरायलमा विद्यार्थी बाहेक झन्डै चार हजार पाँच सय नेपाली छन् । धेरैजसाे 'केयर गिभर' मा कार्यरत हुनुहुन्छ । हमासको आक्रमणपछि नेपालीहरू त्यहाँ सन्त्रासको वातावरणमा बस्नु परेको थियो । देशमा संसद्, राजनीतिक दल, नागरिक समाज र विद्यार्थीका अभिभावकबाट पटक–पटक विभिन्न तहबाट उद्धारका लागि निरन्तर आवाज पनि उठेको थियो । यी सबै कुरालाई दृष्टिगत गरेर नेपालीको उद्धारका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मेरो संयोजकत्वमा संयन्त्र बनाई निर्देशन दिनुभएको थियो । संयन्त्रको सिफारिसअनुसार मन्त्रिपरिषद् बैठकले निर्णय गरी नेपालीको उद्धारका लागि विमानसहित म इजरायलको तेल अभिभ गई उद्धारमा जुटेको हुँ । पहिलो चरणमा दुई सय ५४ जना नेपालीको उद्धार गरेका छौँ । अहिले पनि उद्धार जारी नै छ । 

इजरायलमा नेपालीको पछिल्लो अवस्था कस्तो छ ?

इजरायलमा आक्रमणपछि उद्धारको पर्खाइमा रहनुभएका दुई सय ५४ जना नेपालीको उद्धार गरी नेपाल एअरलाइन्सको चार्टर्ड उडानमार्फत स्वदेश फर्काइएको छ । नेपाल फर्काइएका बाहेक स्वदेश फर्कन चाहने दुई सय जनाभन्दा बढीको विवरण प्राप्त भएको छ । नेपाल फर्कन बाँकी रहेका नेपालीलाई पनि क्रमशः फर्कन सहजीकरण गर्ने प्रक्रिया शुरु गरिएको छ । घाइते भई उपचारका क्रममा रहनुभएका चार जनामध्ये 'डिस्चार्ज' हुनुभएका एक जनालाई विमानमार्फत नेपाल ल्याइएको छ । अन्य उपचाररत हुनुहुन्छ । बेपत्ता विद्यार्थी जोशीको खोजीमा तीव्रता दिइएको छ । इजरायलमा रहनुभएका सम्पूर्ण नेपालीलाई संयम रहँदै निरन्तर दूतावाससँग समन्वय र सहकार्य गर्न तथा सुरक्षा निकायको निर्देशन पालना गर्न अनुरोध गर्न चाहन्छु ।

आक्रमणमा मारिएका विद्यार्थीको शव कहिलेसम्म नेपाल ल्याइन्छ ?

आक्रमणमा मारिएका १० जना नेपाली विद्यार्थीको शव सुरक्षित रहेको इजरायली सरकारले स्पष्ट गरिसकेको छ । यसबाहेक एक हजारभन्दा सङ्ख्यामा इजरायली नागरिक र अन्य देशका नागरिकको पनि शव छ । त्यति नै सङ्ख्यामा आक्रमणकारीको पनि शव छ । तसर्थ ती सबै शवको परीक्षण गरी कानुनी प्रक्रियाअनुसार सम्बन्धित देशलाई हस्तान्तरण गर्ने इजरायल सरकारले जनाएको छ । यसबारेमा इजरायल सरकारले आफू संवेदनशील भएको र आफैँ ती शव नेपाल ल्याएर नेपाल सरकारलाई हस्तान्तरण गर्ने प्रतिबद्धता व्यक्त गरेको छ । इजरायलका विदेशमन्त्री र यहाँ रहेकाे इजरायली राजदूतसँग भएको संवादमा पनि उहाँहरूले त्याे कुरा दोहोर्‍याउनुभएको छ । हामी पनि सकेसम्म छिटो शव नेपाल ल्याएर सम्बन्धित परिवारलाई हस्तान्तरण गर्न लागेका थियौँ । तर विभिन्न प्रक्रियाका कारण पहिलो चरणमा त्यो सम्भव भएन ।

बेपत्ता विद्यार्थी विपिन जोशीको खोजीमा सरकारले के गरिरहेको छ ?

विद्यार्थी विपिन जोशीको अहिले वास्तविक स्थिति थाहा छैन । प्रत्यक्षदर्शीका अनुसार विपिन आक्रमणको समय बङ्करमा हुनुहुन्थ्यो । आक्रमणकारीले प्रहार गरेको बमलाई हातले टिपेर सुरक्षाका लागि बङ्करबाहिर फ्याँक्नुभएको थियो । पछि हमास विद्रोहीले थाई नागरिकसँगै विपिनलाई पनि आफूसँगै लगेका थिए । त्यसपछि उहाँ कुन अवस्थामा कहाँ हुनुहुन्छ भन्ने यकिन हुन सकेको छैन । इजरायलभित्रको परिस्थितिका बारेमा हामीले पटक–पटक विभिन्न चरणमा विभिन्न तहमा इजरायल सरकारलाई खोजीका लागि आग्रह गरिरहेका छौँ । साथै प्रहरी, अस्पताललगायत सम्भाव्य सम्पूर्ण माध्यमबाट उहाँको खोजीलाई अझै तीव्र पारिएको छ । हमासको नियन्त्रणमा हो कि भन्ने आशङ्कामा हमाससँग सम्बन्ध भएका भनिएका देशसँग कुटनीतिक पहल पनि शुरु गरिसकेका छौँ ।

पर्खाइमा रहेका बाँकी नेपालीको उद्धार कहिले र कसरी हुन्छ ?

उद्धार गर्ने नेपालीको सङ्ख्या पर्याप्त भयो भने हामी यहाँबाट पुनः चार्टर्ड विमान लगेर भए पनि उद्धार गर्न तयार छौँ । तर त्यसो भएन भने पनि व्यावसायिक उडानमार्फत आउने नागरिकको खर्च सरकारले नै बेहोर्ने निर्णय भएको छ । यसबारेमा हामीले सूचना पनि जारी गरेका छौँ । स्वदेश फिर्ता गर्नका लागि हामीले त्यहाँ रहेकाे नेपाली दूतावासलाई निर्देशन दिइसकेका छौँ । यसबारेमा सङ्ख्या निर्धारण गरेका छैनौँ, तर यो निर्णय त्यहाँ रहेको सबै चार हजार पाँच सय नेपालीको हकमा लागू हुन्छ । तर मलाई सबै नेपाल अहिले नै आउँछन् जस्तो लाग्दैन । 'केयर गिभर' का रूपमा गएका धेरै नेपाली इजरायली समुदायमा परिवार जस्तै भएर बसेका छन् । त्यहाँको सुरक्षा प्रोटोकलसँग उनीहरू अभ्यस्त पनि भइसकेको हुनाले उनीहरू हतार गरेर फर्कलान् जस्तो मलाई लाग्दैन ।

काम र अध्ययनका लागि लाखौँ नेपाली विदेश गएको अवस्थामा यो घटनाबाट के पाठ सिक्न सकिन्छ ?

विदेशमा हामीले कानुनी रूपमा र सुरक्षित रूपमा पठाएका नागरिकमाथि पनि साङ्घातिक आक्रमण भएको यस घटनाले हामीलाई पाठ सिकाएको छ । कामदारलाई द्विपक्षीय सरकारको सहमतिमार्फत पठाउँदा सामाजिक सुरक्षा धेरै हुन्छ र कामदार सम्झौता गरेर पठाउनुपर्छ भन्ने हो । वास्तवमा रोजगारको अवस्था, सीप र जनशक्तिको अवस्था, श्रम सुविधा सबै निश्चित गरेर मात्र पठाउनुपर्छ भन्ने हामीले भन्दै आएका छौँ । सरकारले निश्चित मापदण्ड निर्धारण नगरि तथा सरकार संलग्न नभइ विदेश पठाउन हुँदैन भनेर हामीले केही दिनअघि मात्र प्रधानमन्त्रीको अध्यक्षतामा श्रम गन्तव्य भएका १० देशका राजदूत, दुई उपप्रधानमन्त्री, परराष्ट्रमन्त्री, श्रममन्त्री अन्य सरोकारवालासहितको बैठकमा त्याे विषयमा छलफल गरेका थियौं । यस विषयमा हामी सहयोग गर्न तयार छौँ ।

इजरायलमा अहिले रहेका नेपालीलाई केही सन्देश छ ?

इजरायलमा अहिले बाँकी रहेका नेपालीलाई धैर्य धारण गर्न आग्रह गर्दछु । नेपाली दूतावासमा स्थानीय कर्मचारीलाई भर्ना गरेर भए पनि उपयुक्त जनशक्ति र संयन्त्र बनाउँदैछौँ । आवश्यक सहयोगका लागि इजरायल सरकारले सहयोग गर्ने वचनबद्धता पनि व्यक्त गरेको छ । यसबीचमा सबै नेपालीलाई सुरक्षा प्रोटोकल आत्मसात् गरेर बस्न आग्रह गर्दै फिर्ता गर्नका लागि सहजीकरण गरिरहेको अवगत गराउन चाहन्छु । यसमा आत्तिने कुरा छैन ।

इजरायल घटनापछि संयुक्त राष्ट्र सङ्घका महासचिवको नेपाल भ्रमण स्थगित भयो, अब कहिले हुन्छ ?

इजरायलको घटनाक्रमले दुई वटा महत्त्वपूर्ण भ्रमण स्थगित भएका छन् । संयुक्त राष्ट्र सङ्घका महासचिव एन्टोनियो गुटेरेस यही १३ अक्टोबरदेखि नेपाल भ्रमणमा आउने तालिका थियो । जुन केही हप्ताका लागि सरेको छ । उहाँहरूले नयाँ मिति प्रस्ताव गरिसक्नुभएको छ । यस सम्बन्धमा यकिन भएपछि हामी चाँडै भ्रमण तालिका सार्वजनिक गर्छाैँ । नयाँ मितिको भ्रमणका लागि पनि हामीले गृहकार्य गरिरहेका छौँ ।

इजरायल घटनासँगै प्रधानमन्त्री प्रचण्डलाई आमन्त्रण गरिएको १७ अक्टोबरमा कतारमा हुने एसिया डाइलग फोरममा प्रधानमन्त्रीको प्रतिनिधित्व गरी मैले जाने भ्रमण तय भएको थियो । यही घटनाका कारण त्याे भम्रण पनि अहिले स्थगित गरिएको छ ।

अन्त्यमा केही भन्न चाहनुहुन्छ ?

सम्पूर्ण देशवासीलाई देशबाहिर भएको यो गम्भीर परिस्थितिमा धैर्यता र संयमता अपनाउन आग्रह गर्दछु । राजनीतिक दलले पनि यस्ता घटनाकाे कुनै पनि हालतले राजनीतिकरण गर्न हुँदैन । कमी कमजोरी सरकारको तर्फबाट या अन्य निकायबाट पनि भएको हुन सक्छ तर त्यसबारेमा छलफल गर्ने अन्य उपयुक्त मञ्च र समय पनि हुन्छ । त्यसैमा गर्दा राम्रो हुन्छ । तर विपद् र सङ्कटका बेला हामी एक भएर त्यसको सामना गर्ने नेपालीको विशिष्ट परम्परा छ । यसका लागि म सबै राजनीतिक दल र समुदायलाई आग्रह गर्दछु ।

अन्तिम अपडेट: बैशाख १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया