१८ हजार भारु कमाउन १४ घण्टा खट्नुपर्छ

 असोज ११, २०७५ बिहिबार | मेरो कथा मेरो भोगाई

लक्ष्मणबहादुर सुनार, जोशीपुर कैलाली/हाल मुम्बई, भारत । 

म अहिले भारतको मुम्बईमा काम गरिरहेको छु । १३ वर्ष भयो मैले यही ठाउँमा काम गर्न थालेको । हुन त देश छोडेर विदेश जानेहरुले समस्या छ मात्रै भन्छन जस्तो लाग्ला । तर समस्या भएर नै समस्या छ भनिएको हो ।

खाडीका देश र मलेसिया गएकाहरुले नेपालीलाई हेप्छन भनेर गुनासो गरेको सुनेको छु । भारत आउनेहरुको अवस्था पनि त्यो भन्दा फरक छैन । हेप्ने क्रम भन्सार कट्दै गर्दा नै सुरु हुन्छ । 

हेपाई खाँदै काम खोज्यो काम पाएपछि साहुलाई जति काम गर्दा पनि खुशी पार्न सकिँदैन । भनेको जस्तो तलब पाइँदैन अनि त्यही तलब पनि समयमा पाइँदैन । भारत आउनेहरुलाई त कमाएको पैसा घर पठाउने पनि समस्या छ ।

बैंकहरुले धेरै कागजात मागेर हैरान बनाउँछन् । भारतमा यस्ता समस्यामा पर्ने नेपालीहरुलाई सहयोग गर्ने संघसंस्था अहिलेसम्म त्यति धेरै थाहा पाएको छैन । 
अब मेरो दैनिकीको कुरा गरौं । बिहान साढे ५ हुँदा उठ्नुपर्छ । यहाँ मैले गर्ने काम गाडी सफा गर्ने हो । साहुका १७ वटा कार र ३५ वटा मोटरसाइकल छन् । ती सबैलाई धोएर सफा गर्नुपर्छ ।

यो काम मलाई पुरै ५ घण्टा लाग्छ । यो काम गरेको महिनामा ८ हजार रुपैयाँ पाउँछु । यहाँको काम सकेर नास्ता गरेपछि २ बजेसम्म सुत्छु । साढे २ बजे खाना खाएपछि ३ बजेदेखि होटलमा काम गर्छु । होटलको काम राती १२ बजेसम्म हुन्छ । कोठा पुग्दा एक बज्छ ।

मेरो सुत्ने समय यही नै हो । होटलबाट मैले महिनामा १० हजार रुपैयाँ तलब पाउँछु । दुवै ठाउँमा गरेर दिनमा १४ घण्टा खट्छु । यो खटाइ बापत मैले पाउने भनेको १८ हजार रुपैयाँ भारु हो । त्यसमध्ये महिनामा १६ हजार रुपैयाँ भारु घर पठाउँछु । 

मलाई यो समय मेरै मातृभुमीमा खर्च गर्ने चाहना छ । यदी कामको अवसर पाउने भए यो समय म मेरै ठाउँमा खर्चिने थिएँ । आफ्नै ठाउँमा पसिना बगाउथे । 

तपाईको प्रतिक्रिया