मध्य युराेपकाे देश पाेल्यान्डबारे जानकारी

 मंसिर १५, २०८० शुक्रबार ८:५२:१८ | उज्यालो सहकर्मी
unn.prixa.net

पोल्याण्ड मध्य युरोपको एक देश हो । वारसा यहाँको राजधानी र सबैभन्दा ठूलो सहर हो । पोल्याण्ड एक संसदीय गणतन्त्रात्मक देश हो ।

देशको ऐतिहासिक क्षेत्रहरूमा आधारित रहेर पोल्याण्ड १६ प्रान्तमा विभाजित छ । उत्तरमा बाल्टिक सागर, उत्तर पूर्वमा रुस, लिथुआनिया र पूर्वमा बेलारुस र युक्रेनले घेरिएको छ । दक्षिणमा स्लोभाकिया र चेक गणतन्त्रका साथै पश्चिम जर्मनी पर्दछन् ।

यो देश शेन्जेन सदस्य हो । शेन्जेन सदस्यता भएका देशहरूबीच स्वतन्त्र रूपमा मानिसको आवतजावतसँगै सामानसमेत सिमाना वारपार गर्न सक्ने सुविधा हुन्छ । यस्तो सम्झौता युरोका २७ देशबीच भएको छ ।

राजधानी: वारसा

जनसंख्या: ३ करोड ७७ लाख ४७ हजार १२४

भाषा: पोलिश

मुद्रा: पोलिश ज्लोटि PLN। { १ पोलिश ज्लोटी (PLN) = ३२.४२ नेरु }, पोल्याण्डले अहिले युरो अपनाउने तयारी गरिरहेको छ ।

शेन्जेन क्षेत्र सदस्य: २१ डिसेम्बर २००७ देखि

समय भिन्नता: नेपालको समयभन्दा ३ घण्टा ४५ मिनेट ढिला

धर्म

पोलिश नागरिक विशेष गरी रोमन क्याथोलिक छन् । पोल्याण्डको आफ्नो कुनै आधिकारिक धर्म छैन । यहाँ रोमन क्याथोलिक चर्चले ठूलो सामाजिक प्रतिष्ठा र राजनीतिक प्रभाव पार्दछ । क्याथोलिक चर्चबाट गहिरो प्रभाव भएकोले पोल्याण्ड युरोपको सबैभन्दा सामाजिक रूपले रूढिवादी देशमध्ये एक हो पनि भन्ने गरिन्छ ।

हावापानी

यहाँ चार प्रकारको मौसम छ । डिसेम्बरदेखि फेब्रुअरीसम्म जाडो हुन्छ । मार्चदेखि मेसम्म वसन्त ऋतु हुन्छ भने जुनदेखि अगस्टसम्म गृष्म ऋतु र सेप्टेम्बरदेखि नोभेम्बरसम्म शरद् ऋतु । यहाँ सबैभन्दा जाडो जनवरी र फेब्रुअरीमा हुन्छ । गर्मीको समयमा तापक्रम १२ डिग्री सेल्सियसदेखि २६ डिग्री सेल्सियसकोबीचमा रहन्छ । त्यसैले यहाँ त्यति गर्मी हुँदैन । तर यस समयमा यहाँ धेरै पानी पर्छ ।

भिसाको नियम

पोल्याण्डमा काम गर्न जानका लागि पोल्याण्डको रोजगारदाताले तपाईँको तर्फबाट स्थानीय भोइभोडशिप अफिस (पोल्याण्डको गभर्नरको कार्यालय) मा कार्य अनुमति (work permit) का लागि आवेदन दिनुपर्छ ।

पोल्याण्डमा 'डी' भिसालाई लामो समय बस्ने वा राष्ट्रिय भिसा पनि भनिन्छ । यो भिसा पोल्याण्डमा अध्ययन गर्न, काम गर्न वा बस्न चाहने व्यक्तिहरूलाई दिइन्छ । तपाईँले पोल्याण्डमा प्रवेश गरेपछि लामो समयसम्म बस्ने भिसालाई निवास अनुमतिमा बदल्नुपर्छ । कहिलेकाहीँ तपाईँले लामो समय बस्ने भिसासँगै निवास अनुमति प्राप्त गर्न सक्नुहुन्छ । सन् २००४ मा पोल्याण्ड युरोपेली संघमा समावेश भएपछि त्यहाँका नागरिकले वर्क परमिट वा भिसाविना नै अन्य युरोपेली देशमा काम गर्ने अधिकार पाए । जसले गर्दा पोल्याण्डमा कामदारको कमी भएको छ ।

न्यूनतम पारिश्रमिक

पोल्याण्डमा जनवरी २०२३ देखि लागू हुने गरी न्यूनतम पारिश्रमिक २२.८० पोलिश ज्लोटी (झन्डै ७०४ नेपाली रुपैयाँ ) प्रतिघण्टा र ३४९० पोलिश ज्लोटी (झन्डै १,०७,००० नेपाली रुपैयाँ) प्रतिमहिना छ । विनिमयदर नेपालमा समयअनुसार घटबढ हुन सक्छ । पोल्याण्डमा काम गर्ने समय सामान्यतया बिहान ८ देखि बेलुका ४ बजेसम्म वा ९ बजे देखि ५ बजेसम्म हुन्छ । औसतमा हप्तामा ४० घण्टा काम गर्न सकिन्छ । (दिनको ८ घण्टा - हप्ताको ५ दिन) ।

ट्राफिक नियम

पोल्याण्डमा सडकको दायाँतर्फबाट गाडी चलाउने नियम छ । सबै गाडीलाई बायाँबाट ओभरटेक गर्नुपर्छ । पोल्याण्डमा गाडी चलाउनका लागि कानुनी उमेर १८ वर्ष हो । जाँड–रक्सी खाएका व्यक्तिलाई कारको अगाडि यात्रुको रूपमा बोक्न निषेध छ ।

पैदलयात्रीले सधैँ सडक पेटी (फुटपाथ) को प्रयोग गर्नुपर्छ । फुटपाथ नहुँदा पैदलयात्रुले सम्भव भएसम्म सडकको बायाँ तर्फबाट हिँड्न सिफारिस गरिन्छ । साथै सकेसम्म गाडीबाट सुरक्षित दूरी राख्ने प्रयास गर्नुपर्छ । पैदलयात्रीलाई अँध्यारोमा वा धमिलो प्रकाशमा एकअर्काको छेउमा हिँड्न अनुमति छैन । एकअर्काको पछाडि हिँड्नुपर्छ । केवल शान्त सडकमा र प्रकाश राम्रो हुँदा दुई पैदलयात्रीलाई एकअर्काको छेउमा हिँड्न अनुमति छ ।

बाटोमा हिँड्दा छेउमा वा बाटो काट्दा पैदलयात्रीलाई मोबाइल फोन प्रयोग गर्न निषेध छ । सडक पार गर्दा आफ्नो सुरक्षा सुनिश्चित गर्न जेब्रा क्रसिङ, ट्राफिक टापु, फुट ब्रिज, सबवे र ट्राफिक बत्ती जस्ता तोकिएका क्रसिङहरू प्रयोग गर्नुपर्छ । बाटो काट्न शुरु गर्नुअघि, ट्राफिक (सवारी साधन) पूर्णरूपमा रोकिएको सुनिश्चित गर्नुपर्छ । बाटो काट्दा सधैँ जेब्रा चिह्नमाथि हिँड्नुपर्छ ।

पोल्याण्ड संस्थागत रूपमा म्यानपावर व्यवसायीले वैदेशिक रोजगारीमा श्रमिक पठाउन पाउने गरी सरकारले खुला गरेको देश हो । यो देशमा श्रमिक पठाउन कुन म्यानपावर कम्पनीले कुन कुन कामको माग ल्याएको छ र के कस्ता सेवा सुविधा पाइन्छ भन्ने जानकारी वैदेशिक रोजगार विभागको वेबसाइटमार्फत थाहा पाउनुपर्छ । यसका लागि विभागको वेबसाइट www.dofe.gov.np  मा गई वैदेशिक रोजगारीको खोजी लेखिएको ठाउँमा क्लिक गरी आफूलाई आवश्यक परेको जानकारी खोज्न सकिन्छ ।

नेपाल र पोल्याण्डबीचको सम्बन्ध मित्रता, सौहार्दता र आपसी सम्मानमा आधारित छ । पोल्याण्डमा नेपालको आधिकारिक नियोग छैन । जर्मनीमा रहेको नेपाली दूतावासले द्विपक्षीय मामिला हेर्ने गर्छ । पोल्याण्डमा समस्याको सामना गरिरहेका नेपालीले जर्मनीमा रहेकाे नेपाली दूतावासलाई नै सम्पर्क गर्नुपर्छ ।

त्यस्तै नेपालमा पनि पोल्याण्डको आधिकारिक नियोग छैन । नयाँ दिल्लीमा रहेकाे पोलिस दूतावासले नेपालसम्बन्धी सबै कामकाज हेर्ने गर्छ ।

नेपाली दूतावास बर्लिन,जर्मनी

वेबसाइट : https://de.nepalembassy.gov.np/contact/

ठेगाना : गरिकस्ट्रसा (Guerickestrasse) 27, (दोस्रो तल्ला) 10587 बर्लिन सार्लटनबर्ग (Berlin-Charlottenburg)

सम्पर्क फोन नम्बरहरु : +49 (030) 34 35 99 -20,-21,-22

इमेल : [email protected], [email protected]

तपाईको प्रतिक्रिया