गर्मीयाम शुरु भएसँगै डेङ्गीकाे जाेखिम बढ्न थाल्याे

 चैत २१, २०८० बुधबार १८:३७:१६ | रासस
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डौ – गर्मीयाम शुरु भएसँगै डेङ्गीको जोखिम पनि बढ्न थालेको छ । गर्मी बढेसँगै मानिसले पानी सङ्कलन गरेर राख्ने र सङ्कलन गरिएको पानीमा लामखुट्टेले डेङ्गीको सङ्क्रमण गराउने भएकाले जोखिम बढ्दै गएको हो ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाकाे कीटजन्य रोग शाखाका प्रमुख डाक्टर गोकर्णप्रसाद दाहालले गर्मीसँगै पानी पनि पर्न शुरु हुने भएकाले डेङ्गीको जोखिम बढ्ने बताउनुभयो । डेङ्गीको सङ्क्रमणबाट बच्न सचेतना अपनाउनुपर्नेमा उहाँले जोड दिनुभयो ।

डाक्टर दाहालले जोखिम हुने ठाउँको पहिचान गरेर लामखुट्टे मार्न अभियान सञ्चालनका लागि स्थानीय तहलाई निर्देशन दिइसकिएको बताउनुभयो । उहाँकाअनुसार डेङ्गी पानी जम्ने सफा ठाउँमा 'एडिज एजिप्टी र एडिस एल्बोपिक्टस' प्रजातिको लामखुट्टेले फुल पार्दछ, ती फुलबाट लार्भा निस्कन्छ र त्यही लार्भा वयस्क भएपछि टोकेमा डेङ्गी लाग्दछ । 

डेङ्गी हुँदा उच्च ज्वरो आउने, टाउको, आँखाको गेडी, ढाड, शरीर, घुँडाका जोर्नी दुख्ने, पिँडौलाको मासु दुख्नेलगायत लक्षण देखा पर्ने भन्दै डाक्टर दाहालले लक्षण देखा परेमा तत्काल चिकित्सकको सल्लाह लिन आग्रह गर्नुभयो । लामखुट्टेबाट बच्नका लागि सधैँ झुल टाँगेर मात्र सुत्ने, खेतबारीमा काम गर्दा लामो बाहुला भएको लुगा लगाउन, घरको झ्याल ढोकामा जाली हाल्न उहाँले अनुरोध गर्नुभयो ।

‘सम्भव भएसम्म लामखुट्टे भगाउने धूप वा मलमको प्रयोग गर्ने, घरपालुवा पशुपक्षी व्यवस्थित ढङ्गले पाल्ने र घर वरिपरि गमला, टायर वा कुनै पनि खुला भाँडामा पानी जम्न दिनुहुँदैन,’ इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका कीटजन्य रोग शाखाका प्रमुख डाक्टर दाहालले भन्नुभयो ।

उहाँकाअनुसार सन् २०२३ मा झन्डै ५१ हजार एक सय ४३ र सन् २०२२ मा ५४ हजार ६ सय ३० जनामा डेङ्गी देखिएको थियो । नेपालमा पहिलो पटक सन् २००४ मा एक जनामा डेङ्गी देखिएको थियो । सन् २००५ मा भने डेङ्गीका बिरामी देखिएनन् । त्यसपछि सन् २००६ देखि डेङ्गीको सङ्क्रमण देखिँदै आएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ ।

अन्तिम अपडेट: बैशाख १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया