म्याग्दीको किसानी कृषि प्राविधिक शिक्षालयका विद्यार्थीले तरकारी, मह उत्पादन गरेर आम्दानी गर्दै

 चैत २६, २०८० सोमबार १५:१४:२५ | रासस
unn.prixa.net

फाइल फाेटाे

म्याग्दी – म्याग्दीको मालिका गाउँपालिका– ७ बिममा किसानी कृषि प्राविधिक शिक्षालयका विद्यार्थीले तरकारी, च्याउ र मह उत्पादन गरी आम्दानी गरिरहेका छन् । किसानी कृषि प्राविधिक शिक्षालयका विद्यार्थीले पढाइका साथै मौसमी तथा बेमौसमी तरकारीखेती र मौरीपालन गर्दै आएका हुन् ।

शिक्षालयमा बाली विज्ञान विषयमा अध्ययनरत ४० जना विद्यार्थीले तरकारीखेतीका साथै मौरीपालन गरेका छन् । विद्यालय परिसरमा मौरीका छ वटा घार छन् । विद्यार्थीले मह उत्पादन प्रक्रिया, महको चाका सङ्कलन, मौरीको घारको रेखदेख र मह निकाल्ने सम्पूर्ण प्रक्रिया सिकेका किसानी प्राविधिक शिक्षालयका प्रधानाध्यापक जङ्गबहादुर गर्बुजाले बताउनुभयो । विद्यार्थीले पाँच लाख रुपैयाँ बराबरको तरकारी, च्याउ र मह उत्पादन गरे पनि यस वर्ष दुई लाख ५० हजार रुपैयाँको मात्र बिक्री भएको उहाँको भनाइ छ ।

विद्यार्थीले अहिले आफ्नो घरमा समेत मौरीको घार राख्न थालेका छन् । मौरीपालनसँगै शिक्षालयले विद्यार्थीको प्रत्यक्ष सहभागिता हुने अन्य कृषि कर्ममा लगाउने गरेको छ । अहिले म्याग्दीको बिममा ११ वटा जिल्लाका विद्यार्थी अध्ययनरत छन् । पढ्दै कमाउँदै कार्यक्रमअन्तर्गत विद्यार्थीलाई आत्मनिर्भर हुन प्रेरित गरिरहेको विद्यालयले जनाएको छ ।

विद्यार्थीले उत्पादन गरेको तरकारी बिक्रीबाट आएको नाफा ७५ प्रतिशत विद्यार्थीलाई उपलब्ध गराउने र २५ प्रतिशत विद्यालयले शैक्षिक भ्रमणसहितका कार्यमा प्रयोग गर्ने गरेको प्रधानाध्यापक गर्बुजाले जानकारी दिनुभयो । विद्यालयमा अध्ययन गरिरहेका विद्यार्थीले कृषि उत्पादन गर्न चाहेमा विद्यालयले ऋण सुविधासमेत दिएको उहाँले बताउनुभयो ।

अन्तिम अपडेट: बैशाख २१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया