ठमेल र दरबारमार्ग क्षेत्र चौबीसै घण्टा सञ्चालन गर्नका लागि विशेष सुरक्षा योजना तयार

 चैत २९, २०८० बिहिबार १५:४६:१८ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डौ – जिल्ला प्रहरी परिसर काठमाण्डाैका प्रमुख एवम् प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) भूपेन्द्रबहादुर खत्रीले ठमेल र दरबारमार्ग क्षेत्रलाई चौबीसै घण्टा सञ्चालन गर्नका लागि प्रहरीले विशेष सुरक्षा योजना तयार पारेको बताउनुभएको छ । सामुदायिक सेवा केन्द्र टुँडालदेवी, प्रहरी वृत्त महाराजगञ्ज तथा मालिगाउँले आज आयोजना गरेको ‘लागुऔषध दुर्व्यसनी तथा साइबर अपराध न्यूनीकरणसम्बन्धी अन्तरक्रिया’ मा उहाँले ठमेल र दरबारमार्गलाई चलायमान बनाउन विशेष सुरक्षा योजना बनाइएको बताउनुभएको हो ।

ठमेल र दरबारमार्ग क्षेत्र चौबीसै घण्टा खुलाउनका लागि अपराध हुनसक्ने सम्भावित क्षेत्रको प्रहरीले सुक्ष्म अनुसन्धान गरिरहेको छ । नेपाल प्रहरी र पर्यटक प्रहरीको जनशक्ति थप गरी बजारलाई चलायमान बनाउन नेपाल प्रहरी लाग्ने एसएसपी खत्रीले बताउनुभयो । उहाँले पछिल्लो समय राजधानी काठमाण्डौसहित देशभर लागुऔषध दुव्यर्सनी र साइबर अपराधको घटना बढेको भन्दै नियन्त्रणका लागि काठमाण्डौ प्रहरीले काम गरिरहेको उल्लेख गर्नुभयो ।

चालु आर्थिक वर्षमा सामाजिक सञ्जालको दुरुपयोग गर्ने तीन हजार सात सय वटा मुद्दा काठमाण्डौ प्रहरीमा दर्ता भएको खत्रीकाे भनाइ छ । यस्तै लागुऔषध दुव्यर्सनीसम्बन्धी देशभर चार हजार वटाभन्दा बढी मुद्दा दर्ता भएको एसएसपी खत्रीले बताउनुभयो ।

कार्यक्रममा काठमाण्डौ महानगरपालिका वडा नम्बर ४ का अध्यक्ष दिनेश महर्जनले आउँदो वर्ष २०८१ मा वडाभित्रका बिग्रेका सबै सडक कालोपत्र गरिसक्ने बताउनुभयो । उहाँले लागुऔषध दुर्व्यसन र साइबर अपराधमा सजग रहन विद्यार्थीलाई आग्रह गर्नुभयो ।

सामुदायिक सेवा केन्द्र टुँडालदेवीका अध्यक्ष रामप्रसाद न्यौपानेले चण्डोल, धुम्बाराही, बालुवाटार, चुनदेवी, टुँडालदेवीलगायतको क्षेत्रमा हुने विकृति, विसङ्गति अन्त्यका लागि सामुदायिक प्रहरी सेवा केन्द्रको सहकार्यमा सामुदायिक सेवा केन्द्रले काम गर्दै आएको बताउनुभयो ।

यस्तै नेपाल सरकारका पूर्वसचिव श्यामप्रसाद मैनाली, पूर्वप्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) अमरसिंह शाह, न्यूटन उच्च माविका प्राचार्य रामबहादुर थापालगायतले आउँदा दिनमा देश विकासको जिम्मा अहिलेका विद्यार्थीको भएकाले लागुऔषध दुर्व्यसनी र साइबर अपराधसँग टाढा रहन आग्रह गर्नुभएको छ ।

अन्तिम अपडेट: बैशाख २०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया