नेपालमा पहिलोपटक निजी क्षेत्रको जलविद्युत आयोजनाले हाइड्रोजन उत्पादनका लागि अध्ययन प्रक्रिया थाल्यो

 बैशाख ८, २०८१ शनिबार १५:५१:३५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – नेपालमा पहिलोपटक निजी क्षेत्रको जलविद्युत् आयोजनाले हाइड्रोजन उत्पादनका लागि अध्ययन प्रक्रिया अघि बढाएको छ । नुवाकोटमा रहेको बुद्धभूमि नेपाल हाइड्रोपावर कम्पनीले काठमाण्डौ विश्वविद्यालय केयूसँग ग्रीन हाइड्रोजन उत्पादनका लागि अध्ययन गर्न सम्झौतामा हस्ताक्षर गरेको हो ।

यसअघि काठमाण्डौ विश्वविद्यालयले धुलिखेलको विश्वविद्यालयको कम्पाउन्ड भित्रै हाइड्रोजन ल्याब स्थापना गरी २०७९ सालमा हाइड्रोजन उत्पादन शुरु गरेको थियो । पछिल्लो समय केयूले हाइड्रोजनबाट चल्ने कारमा रिफ्युलिङसमेत गरिसकेको छ । तर निजी क्षेत्रबाट भने यसअघि हाइड्रोजन उत्पादनका लागि कुनै पनि कम्पनी अघि बढेका थिएनन् ।

कम्पनीले नुवाकोटको दुप्चेश्वर गाउँपालिकामा सञ्चालनमा ल्याएको पाँच मेगावाट क्षमताको तल्लो ताँदी जलविद्युत् आयोजनाबाट उत्पादन हुने विद्युतलाई हाइड्रोजन उत्पादनमा प्रयोग गर्ने गरी केयूसँग मिलेर अध्ययन प्रक्रिया अघि बढाएको बुद्धभूमि हाइड्रोपावर कम्पनीका निर्देशक तथा स्वतन्त्र ऊर्जा उत्पादकको संस्था, नेपाल (इप्पान)का महासचिव बलराम खतिवडाले बताउनुभएको छ ।

वर्षामा विद्युत् उत्पादन बढी हुने तर खपत नबढ्दा हरेक वर्ष निजी ऊर्जा उत्पादकको विद्युत् खेर गइरहेको छ । यसरी खेर जाने विद्युतलाई हाइड्रोजन उत्पादनमा प्रयोग गरेर हिउँदको समयमा प्रयोग गर्न सकिए धेरै विद्युत् आयोजनाको वर्षाको समस्या समाधान हुने खतिवडाको भनाई छ ।

दुई पक्षबीच भएको तीनबुँदे सम्झौतामा ग्रीन हाइड्रोजन उत्पादन गर्न केयूका प्रावधिकले तीन महिना सम्भाव्यता अध्ययन गर्ने र अध्ययनअनुसार प्रतिवेदनका आधारमा जलविद्युत् परियोजनाको क्षमताअनुसार उत्पादन शुरु गर्ने उल्लेख छ । 

अन्तिम अपडेट: बैशाख २१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया