बेहुला बेहुलीको जीउज्यान पहेँलो पार्ने हल्दी बेसारको माहात्म्य !

 बैशाख ९, २०८१ आइतबार १४:२:४८ | मिलन तिमिल्सिना
unn.prixa.net

जग्गेमा त बेहुला बेहुली सुकिलामुकिला र रूपरङ्गले धपक्क बलेका देखिन्थे । तर फेसबुकमा हेर्दा त रूप र लावण्यले धपक्क हुनुभन्दा पहिले ज्यान पहेँलपुर भएको देखियो । ‘हल्दी रश्म’ नामक फोटोसेसनमा शीरदेखि पाउसम्मै बेसार दलेका रहेछन् । तर बेहुला बेहुलीको हल्दी र काटेर भुत्ल्याएपछि बेसार दलेको खसी उस्तै–उस्तै लागेपछि मलाई बेहुला बेहुलीको ज्यानमा जग्गेमा बस्नुअघि किन बेसार दल्ने रैछन् भन्ने थाहा पाउन मन लाग्यो । तपाईंलाई पनि भर्खरभर्खर बिहेको तामझाम र भोजभतेरको मेजमानी भ्याएर फेसबुकतिर बरालिँदा थाहा पाउने खसखस त लागेकै होला । केही काम नभएर या मारामार काम हुँदा पनि जाँगर नभएर फुर्सदिलो हुनुहुन्छ भने आउनुहोस् एकछिन बेसारको राज खोजौँ ।

बेसार पनि दुई खालका हुन्छन् । एउटा बेसार भनेको सार नभएको, फोस्रो, बेकामको । अर्को बेसार भनेको अदुवाका ढाँचाको बोट हुने र जमिनमुनि त्यस्तै छाँटले फल्ने पहेँलो एकखाले कन्दमूल । दाल र तरकारीमा हालिने त्यसैको धुलो, हलेदो । यही हलेदोबाट हल्दी भन्दै बिहेमा बेसार दल्ने चलन बसेको हो ।

बेहुला बेहुलीले हल्दी भन्दै बेसार दल्नु निश्चित ठाउँ र समुदायको असली संस्कार हो । तर हिजोआज बिहेपछि फेसबुकको फोटोमा देखिने बेसार चाहिँ नक्कली अर्थात् कुनै सार नभएको, फोस्रो र बेकामको हो । तर फेसबुकमै राख्न ज्यानमा बेसार दल्नुका फाइदा चाहिँ अनेक हुँदा रैछन् ।

डाक्टरहरूका अनुसार बेसारले मान्छेको शरीरमा लाग्ने धेरै प्रकारको रोग ठीक पार्नसक्छ । शरीरको रोग प्रतिरोधात्मक क्षमता बढाउनुका साथै अन्य सङ्क्रमणबाट पनि बचाउँछ । त्यसैले दुई शरीर र दुई मनलाई एक बनाउनुअघि बेहुला बेहुलीले रोगको सङ्क्रमणबाट मुक्त हुँदै प्रतिरोधात्मक क्षमता बलियो बनाउनका लागि बेसार दलेका हुन सक्छन् ।

बेसारले छालामा चमक ल्याउँछ । छाला चम्किलो हुनु भनेको मान्छे सुन्दर र राम्रो देखिनु हो । हुन त जतिसुकै नराम्रो मान्छे पनि बिहेको दिन चिटिक्कै देखिन्छ । बिहेका दिन लगाइने लुगा नै झिलिमिली र आकर्षक हुन्छन् । तर ज्यानमा कपडा भएको बेलामा मात्रै सुन्दर र आकर्षक देखिएर भएन । कपडा नभएको बेलामा पनि ज्यानमा चमक देखिनुपर्छ । पहिलो नजरमै ज्यान सुन्दर देखिएन भने पछि सम्बन्ध प्रगाढ नहुन सक्छ । त्यसैले ज्यानमा कपडा नभएको बेलामा पनि एकअर्कालाई सुन्दर देखाउन बेहुला बेहुलीले बेसार दलेको हुनुपर्छ ।

ज्यानमा बेसार दलेपछि अरूको नजर नलाग्ने विश्वास गरिन्छ । बिहेअघि या बिहेपछि आफ्नो नजर अर्कोतिर या अर्कोको नजर आफ्नोतिर लागेर केही फरक परेन । तर कम्तीमा बिहेको दिन त बेहुलाको नजर बेहुलीतिर र बेहुलीको नजर बेहुलातिर मात्रै हुनुपर्‍याे । त्यसैले बिहेको दिन नजर अन्त नबरालियोस् भनेर पनि बेहुला बेहुलीलाई ज्यानमा बेसार दल्नु परेको हुन सक्छ ।

डाक्टरहरू भन्छन्, बेसारले शरीरको मांसपेशी बलियो बनाउँछ । त्यसैले अरूको भन्दा पनि बेहुला बेहुलीको मांशपेशी बलियो हुनुपर्ने होला ।

लामो समयदेखि ग्यास्ट्रिकका पीडितलाई बेसारको नियमित सेवनले पूर्ण फाइदा पुर्‍याउँछ । बेहुला बेहुलीलाई अरू बेला ग्यास्ट्रिक थिएन भने पनि बिहेको दिन जग्गेको लम्बेतान कामले घण्टौँ भोको बस्दा ग्यास्ट्रिक हुनसक्छ । ग्यास्ट्रिक निको पार्नका लागि सिधै बेसार मुखमा हाल्दा तितो हुन्छ । बेहुला बेहुलीकै शरीरमा दलेको बेसार जिब्रो र मुख हुँदै आफसेआफ दुवैको पेटमा पुगिहाल्छ । त्यसैले पनि दिउँसै ज्यानमा बेसार दल्नुपरेको होला ।

भनिन्छ पोलेको वा घाउचोटमा बेसारको धुलो हालेमा पीडा कम हुन्छ र घाउ निको हुँदै जान्छ । बिहे बन्धनमा बाधिँदै गरेका बेहुला बेहुलीमध्ये कतिपयलाई पहिले कसैसँग भएको सम्बन्ध तोड्नुपर्दा मन पोल्छ । भित्र घाउचोट र पीडा हुन्छ । त्यो चोट र पीडा कम गर्नका लागि पनि शरीरमा बेसार दल्ने चलन बसेको हुनुपर्छ ।

मनोविद्हरूका अनुसार बेसारको नियमित प्रयोगले 'डिप्रेसन' अर्थात् मानसिक चिन्ताको शिकार हुनबाट जोगाउँछ । धेरैलाई राम्रैसँग अनुभव छ कि बिहेको केही दिनसम्म जिन्दगी रसिलो र भरिलो हुन्छ । त्यसपछि रस बस्न छोड्छ र धेरैलाई 'डिप्रेशन' को अवस्थासम्म पुर्‍याउन सक्छ । त्यसैले बिहेपछिका दिनमा 'डिप्रेशन' नहोस् भनेर पूर्वसावधानी अपनाएको पनि हुनुपर्छ ।

नियमित बेसार सेवन गरे बुढोपना देखिँदैन रे । तन बुढो हुँदै गए पनि मन जवान राख्नका लागि पनि बेहुला बेहुलीले जग्गेमा बस्नुअघि नै ज्यानमा बेसार दलेको हुनसक्छ ।

बेसार खानु र जीउमा दल्नुको फाइदा त कति हो कति । त्यसैले पनि बेहुला बेहुलीले जग्गेमा बस्नुभन्दा पहिले जीउमा बेसार दल्छन् र जग्गेको काम सकेपछि एकअर्काको ज्यानमा दलेको बेसार खान्छन् । तर एकपटक खाएको बेसारले त्यही दिन या रातमा मात्रै काम गर्ने होला । बिहेपछिका दिनमा पनि शारीरिक र मानसिक रूपमा फुर्तिलो भइरहनुपरो । फुर्तिलो भइरहन सधैँ बेसार खाइरहन या दलिरहन पर्ने हो कि होइन ? आफ्नो ज्यानमा बेसार दलेर र अर्कोको ज्यानमा दलेको बेसार खाएर जिन्दगीको नयाँ सारमा हिँड्न थालेकाहरूले फेसबुकमा आफ्नो अनुभव पनि बेलिबिस्तार लगाउलान् कि !

अन्तिम अपडेट: बैशाख २१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

मिलन तिमिल्सिना

दुई दशकदेखि रेडियो र अनलाइन पत्रकारितामा संलग्न मिलन तिमिल्सिना समसामयिक विषयमा विश्लेषण र व्यंग्यमा दखल राख्नुहुन्छ। 

तपाईको प्रतिक्रिया