‘पहाडकी रानी’ काे सुन्दरता र मौलिकता कायम राख्न आग्रह

 बैशाख ११, २०८१ मंगलबार १५:१५:४० | रासस
unn.prixa.net

तनहुँ – तनहुँको बन्दीपुर पर्यटन बोर्डले पहाडकी रानी उपनामले परिचित बन्दीपुर बजारको सुन्दरता र मौलिकतालाई कायम राख्न आग्रह गरेको छ । बन्दीपुरको पर्यटन प्रवर्द्धनका निमित्त गठित बोर्डले मुख्य बजार क्षेत्रको सुन्दरता र मौलिकता कायम राख्न व्यवसायीलाई आग्रह गरेको हो ।

बोर्डका अध्यक्ष एवम् गाउँपालिकाका अध्यक्ष सुरेन्द्र थापाले बन्दीपुरको सुन्दरता अवलोकनका लागि देश तथा विदेशबाट पर्यटक आउने गरेकाले यसको मौलिकता कायमै राख्नुपर्ने बताउनुभयो । बोर्डले ऐतिहासिक बन्दीपुर बजारमा रहेका घरमा भएका बाहिरी गल्ली (करिडोर) खुला राख्न आग्रह गरेको थापाको भनाइ छ ।

बोर्डले सम्बन्धित व्यवसायीलाई पसलबाहिर सामग्री राखेर बिक्री/वितरण नगर्न, मूल्यसूची ग्राहकले देख्ने ठाउँमा अनिवार्य राख्न, बजार क्षेत्रका व्यापारिक प्रयोजनका लागि राखिने फ्लेक्स बोर्डहरू ३० दिनभित्र हटाएर काठ वा हस्तलिखित बोर्ड राख्न आग्रह गरेको छ ।

सदरमुकाम दमौलीबाट १८ किलोमिटर डुम्रे हुँदै आठ किलोमिटरको उकालो यात्रा तय गरेपछि बन्दीपुर पुगिन्छ । यहाँबाट मनोरम हिमशृङ्खला, पहाड, टाकुरा अवलोकन गर्न सकिन्छ । प्राकृतिक सुन्दरता बोकेको बन्दीपुरबाट अन्नपूर्ण, माछापुच्छ्रे, धौलागिरिलगायतका हिमशृङ्खला देखिन सकिन्छ ।

बन्दीपुरमा होटल सङ्घसँग आबद्ध सानाठूला गरी ७७ वटा होटल सञ्चालनमा छन् । बन्दीपुरमा ग्रिनपार्क, होटल दरबार हिमालय फेवा, गामघर, बोल्डइन, बन्दीपुर माउन्टेन रिसोर्ट, बन्दीपुर प्यालेस, मगर भिलेजलगायत होटल सञ्चालनमा छ ।

बन्दीपुर घुम्न आउने पर्यटकलाई पर्यटकीय गन्तव्यसम्म सहज पहुँच स्थापना गर्न बन्दीपुर गाउँपालिकाले १७ वटा पर्यटकीय गन्तव्यको सूची सात वटा भाषामा तयार गरेपछि पर्यटकलाई थप सहज भएको छ ।

गाउँपालिकाका अध्यक्ष थापाका अनुसार गन्तव्यबारे जानकारी नेपाली, अङ्ग्रेजी, चिनियाँ, जापानी, कोरियाली, फ्रान्सेलीलगायतका भाषामा तयार पारिएको छ । बन्दीपुरको थानीमाई मन्दिर, मणि मुकुन्देश्वरी पर्खाल (मिनी ग्रेटवाल), विन्ध्यवासिनी मन्दिर, पद्य पुस्तकालय, पातलेद्वार गुफा, पहाड पानी, शहीद स्मारक पार्कलगायतका १७ पर्यटकीय गन्तव्यको सूचना फरक–फरक भाषामा तयार भएको छ ।

अन्तिम अपडेट: बैशाख २१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया