कर्णालीका हिमाली जिल्लामा समेत औलो रोग भेटियो

हिमाली क्षेत्रको तापक्रम बढ्दा र तराईबाट जाने गाडीका कारण लामखुट्टे पुगेको अनुमान

 बैशाख १३, २०८१ बिहिबार १५:२७:१२ | रासस
unn.prixa.net

प्रतीकात्मक तस्बिर

काठमाण्डाै – कर्णाली प्रदेशका हिमाली जिल्लामा समेत औलो राेग देखिएको छ । सडक सञ्जालले हिमाली जिल्ला जोडिएपछि रोगको प्रभाव ती जिल्लामा देखिन थालेको जनाइएको छ ।

विश्व औलो दिवसका अवसरमा स्वास्थ्य सेवा निर्देशनालय कर्णाली प्रदेश सुर्खेतले गरेको अन्तरक्रियामा विगतमा तराईमा देखिने औलो रोग अचेल हिमालसम्म पुगेको तथ्याङ्क सार्वजनिक गरिएको हो ।

अन्तरक्रियामा औलो रोगको अवस्थासम्बन्धी पाँच वर्षयताको तथ्याङ्क सार्वजनिक गर्दै निर्देशनालयका भेक्टर कन्ट्रोल सुपरभाइजर अधिकृत श्यामलाल आचार्यले हुम्लाको ताजाकोट गाउँपालिका–२, ३ र ४ तथा कालीकोट खाँडाचक्र नगरपालिका–२ औलो रोगको उच्च जोखिममा रहेको बताउनुभयो ।

उहाँका अनुसार हुम्लाको ताजाकोट–१, चङ्खेली गाउँपालिका–२, अदानचुली गाउँपालिका–२ र ३, मुगुकाे सोरु गाउँपालिका–४ र ५, खत्याड गाउँपालिका–१, सुर्खेतकाे वीरेन्द्रनगर नगरपालिका–७ सहित गरी नौ वडा मध्यम जोखिमका रहेका छन् ।

सडक यातायातका साथै जलवायु परिवर्तनका कारण तापक्रम बढ्दै जाँदा हिमाली क्षेत्रमा लामखुट्टे देखिन थालेपछि मलेरिया फैलिन थालेको हो । तापक्रम वृद्धिकै कारण तराईका विभिन्न माध्यमबाट लामखुट्टे हिमाली क्षेत्रमा पुगेर त्यहाँको फोहर, खाल्डाखुल्डीमा वृद्धि हुन थालेको छ ।

स्वास्थ्य सेवा निर्देशनालयका अनुसार सुर्खेतमा २०, दैलेखमा तीन र कालीकोटमा एक जना गरी अहिले कर्णालीमा २४ जना औलोका बिरामी छन् । उनीहरू सबैको निःशुल्क उपचार भइरहेको छ ।

अन्तिम अपडेट: बैशाख २२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया