साउन अघि निजी आवास पुनर्निर्माणको काम सम्पन्न हुन्छ : सीईओ ज्ञवाली

 मंसिर ४, २०७५ मंगलबार १५:९:४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले चालू आर्थिक वर्षभित्र निजी आवास पुनर्निर्माणको काम सम्पन्न गर्ने प्रतिवद्धता जनाएको छ ।

प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले चालू आर्थिक वर्षभित्र निजी आवास पुनर्निर्माणको काम सम्पन्न गर्ने प्रतिवद्धता व्यक्त गर्नु भएको हो । मंगलबार संघीय संसद विकास तथा प्रविधि समितिको बैठक कोरम नपुगेर स्थगित भएपछि उहाँले संचारकर्मी माझ चालू आर्थिक वर्षभित्र मूलभूत रुपमा सम्पन्न हुनेगरी निजी आवास पुनर्निर्माणको कामलाई तीव्रता दिइएको स्पष्ट पार्नुभयो ।

प्राधिकरणले अहिलेसम्म ४३ प्रतिशत निजी आवास पुनर्निर्माणको काम सम्पन्न भएको, ३४ प्रतिशत काम सुरु गरिएको र बाँकी कामलाई पनि तीव्रता दिइएको जानकारी गराएको छ । प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले एकीकृत बस्ती निर्माणको काममा भने केही ढिलाई हुन सक्ने पनि उल्लेख गर्नुभयो ।

प्राधिकरणले अब बाँकी रहेको २ वर्ष ३ महिनाभित्र सम्पदासहितको पुनर्निर्माणका सबै काम सम्पन्न गर्ने दाबी पनि गरेको छ । प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले पुनर्निर्माणका लागि दिइएको पाँच वर्षको समयमध्ये अब २ वर्ष ३ महिना बाँकी रहेको उल्लेख गर्दै सो समय भित्र पुनर्निर्माणको सबै काम सम्पन्न गर्ने बताउनुभयो ।

उहाँले पुरातात्विक महत्वको सम्पदाहरु धरहरा, रानी पोखरी, काष्ठमण्डव निर्माणको कामलाई तीव्रता दिइएको जानकारी दिनुभयो । प्राधिकरणले पुनर्निर्माणको कामलाई तीव्रता दिन स्थानीय तहलाई नै गुनासो तत्काल सम्बोधन गर्ने प्रावधानसहितको कार्यविधि पनि पारित गरेको छ ।

त्यसैगरी पुनर्निर्माणको लागि प्राविधिकहरुको कमी हुन नदिन त्यसको उचित व्यवस्था पनि गरिएको प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले बताउनुभयो । 

अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया