नेपाल भ्रमण वर्षमा २० लाख पर्यटक भित्र्याउने गरी काम अघि बढिसक्यो: सीईअाे जोशी

 मंसिर ४, २०७५ मंगलबार १६:२३:४१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – नेपाल पर्यटन बोर्डका कार्यकारी अधिकृत (सीईओ) दिपकराज जोशीले नेपाल भ्रमण वर्ष २०२० मा २० लाख पर्यटक भित्र्याउने लक्ष्य पूरा गर्न सरकारले तीव्र रुपमा काम अगाडि बढाएको बताउनुभएको छ । 

मंगलबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै जोशीले सन् २०१५ मा गएको शक्तिशाली भूकम्पपछि नेपालमा पर्यटकको संख्या बढाउन ‘भिजिट नेपाल –२०२०’ ले महत्वपूर्ण भुमिका खेल्ने विश्वास दिलाउनुभयो । 

उहाँले पर्यटकहरू न्यून संख्यामा आउने मौसममा पनि उनीहरूलाई आकर्षित गर्ने योजना अघि सारिएको जनाउनुभयाे । उहाँले भन्नुभयाे,‘नेपाल भ्रमण वर्षमा २० लाख पर्यटक भित्र्याउने गरी काम अघि बढाइसकेका छौं ।’

२० लाख पर्यटक भित्र्याउने उद्देश्यसहित घोषणा भएको ‘नेपाल भ्रमण वर्ष’ लाई सफल बनाउन मन्त्रालयलगायत मातहतका निकाय सक्रियताका साथ काममा लागिपरेको कार्यकारी अधिकृत जोशीले स्पष्ट पार्नुभयो । 

भूकम्पअघि नेपालमा पर्यटकको संख्या प्रतिवर्ष दश लाख रहेकोमा पछिल्ला दुई वर्षभित्र नेपालले सोचेकोभन्दा बढि नै पर्यटक भित्र्याउन सफल भएको उहाँको दाबी छ । 

भैरहवा बिमानस्थलको काम तीव्र गतिमा अगाडि बढिरहेकाले सन् २०१९ को सेप्टेम्बरबाट उक्त विमानस्थलबाटै उडान भर्न मिल्ने उहाँले जनाउनुभयो । 

देशको आर्थिक समृद्धिसँग पर्यटनको विकास र यस क्षेत्रमा हुने सकारात्मक परिवर्तनले विशेष महत्व राख्ने जोशीको भनाई छ । 

विगतमा पर्यटन प्रवर्द्धनका लागि चलाइएका अभियानले अपेक्षाअनुसार पर्यटक भित्राउन सफल भएको निष्कर्षसँगै सरकार आगामी सन् २०२० भित्र वार्षिक २० देखि २५ लाख पर्यटक ल्याउने लक्ष्यका साथ अघि बढेको पनि उहाँले बताउनुभयो । 

जोशीका अनुसार सरकारले विगतमा ‘भिजिट नेपाल–१९९८’, ‘नेपाल टुरिजम इयर–२०११’ लगायत विभिन्न अभियान चलाउँदै आएको र भूकम्प तथा नाकाबन्दीका कारण पर्यटकको संख्यामा आएको कमी हटाउन सरकार अहिले प्रयासरत रहेको छ ।

नेपालमा पर्यटकहरु बढाउनको लागि ‘डिजिटल–मार्केटिङ’ लाई अघि बढाएको साथै विश्वप्रख्यात सेलिब्रेटीहरुलाई पनि नेपालको भ्रमण गराएर विश्वमै नेपालको पयर्टनको प्रचारप्रसार गर्ने आफूहरुको योजना रहेको पनि उहाँले जानकारी दिनुभयो ।
 

अन्तिम अपडेट: चैत ३, २०८०

1 Comments

  • kamal gautam

    Nov. 20, 2018, 5:26 p.m.

    सबैभन्दा पहिला एयरपोर्टवाट काम शुरु गर्नु/ एयरपोर्टमा ब्याग पर्खने ट्रली लिन नै लाइन बस्नु पर्दाको नराम्रो अनुभव गरें मैले अक्टोवर ११ तारिखका दिन/

  •  0 Reply

तपाईको प्रतिक्रिया