सुदर्शन थापा महंगा निर्देशक सूचीमा

 मंसिर ५, २०७५ बुधबार १८:१६:३३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – पछिल्लो समय चलचित्र निर्माण गर्न निकै सहज भएको छ । तर त्यसलाई चलाउन अत्यन्तै गाह्रो हुँदै गएको छ ।

एक वर्षमा झण्डै १ सय २५ वटा चलचित्र बन्ने गरेका छन् । तर सफल भने २५ वटा पनि भएका छैनन् । तर यता नेपाली कलाकारहरुको पारिश्रमिक भने बढ्दै गएको छ ।

कलाकारसँगै चलचित्रका निर्देशकहरुले पनि चलचित्र निर्देशन गरे बापत महंगो रकम लिने गरेका छन् । निश्चल बस्नेत, दीपेन्द्र के खनाल, रामबाबु गुरुङ लगायतका केही निर्देशक महंगो पारिश्रमिक लिएर मात्र चलचित्र निर्देशन गर्ने निर्देशकमा पर्छन् ।

अब यो लिष्टको नाममा अब निर्देशक सुदर्शन थापाको पनि नाम थपिएको छ । उनले पनि नयाँ चलचित्र ‘सम्हालिन्छ कहिले मन’का लागि महंगो रकम लिएको चर्चा चलेको छ । यसअघि उनले बाहिरी ब्यानरका चलचित्रमा काम नगर्ने बताएका थिए । उनले यसअघि आफ्नै ब्यानरका चलचित्रम ‘यस्तो गीत गाउँछु’ र ‘राम कहानी’ निर्देशन गरेका थिए ।

२ चलचित्रपछि भने उनले बाहिरी ब्यानरको चलचित्रको निर्देशन गर्न लागेका हुन् । सुदर्शनले यो चलचित्र निर्देशन गरे बापत ३० लाख पारिश्रमिक लिएको चर्चा छ । उक्त चलचित्रको कथा पनि सुदर्शनले नै लेखेको बताइएको छ । 

यसअघि अभिनेत्री पूजा शर्माले पनि चलचित्र युनिटबाट १५ लाख रुपैयाँ पारिश्रमिक लिएकी थिइन् । चलचित्रको सम्पूर्ण छायांकन बेलायतमा हुनेछ बताइएको छ । चलचित्रका लागि कलाकारहरु सरोज खनाल, पूजा शर्मा नवनायक सोनम थोप्देन लगायतका केही कलाकार फाइनल भैसकेका छन् ।

चलचित्रका लागि थप एक जना नायकको खोजी भइरहेको बताइएको छ । 
 

अन्तिम अपडेट: बैशाख १४, २०८१

तपाईको प्रतिक्रिया