दुई हप्तापछि नियन्त्रणमा आयो क्यालिफोर्नियाको डढेलो

 मंसिर १०, २०७५ सोमबार १९:३९:४८ | रासस
unn.prixa.net

लस एञ्जलस –  क्यालिफोर्नियाको इतिहासमा नै अत्यन्त विनासकारी मानिएको डढेलो नियन्त्रणमा आएको छ । 

करिब दुई हप्तापछि अग्नि नियन्त्रकहरुको अथाह प्रयासबाट आइतबार डढेलो नियन्त्रणमा लिइएको अधिकारीहरुले जानकारी दिएका छन् । 

‘क्याम्प फायर’ का कारण गएको नोभेम्बर ८ बाट शुरु भएको यो डढेलोबाट करिब ८७ व्यक्तिको मृत्यु भएको छ । डढेलो नियन्त्रणमा आएको भनिएता पनि अझै दुईसय ९६ व्यक्ति बेपत्ता छन् । यद्यपि गएको शुक्रबार चार सय ७४ व्यक्ति बेपत्ता भएको बताइएको थियो । 

स्थानीय अधिकारीहरुका अनुसार यस डढेलोमा परि मारिएका व्यक्तिहरुमा ५४ जनाको मात्र परिचय खुलेको थियो । यस डढेलोबाट एक लाख ५३ हजार ३३६ एकड जमिन ध्वस्त भएको थियो । त्यसैगरी १४ हजार घर र सयौं अन्य संरचना ध्वस्त भएका छन् । 

क्यालिफोर्नियाका गभर्नर जेरी ब्राउनले हाल आगलागी हुने प्रमुख कारणमा विश्वव्यापी रुपमा बढेको तापक्रम भएको चेतावनी दिएका छन् । 

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गएको हप्ता क्यालिफोर्नियाको डढेलोबाट प्रभावित क्षेत्रको भ्रमण गरेका थिए ।
 

अन्तिम अपडेट: बैशाख ११, २०८१

तपाईको प्रतिक्रिया