अयोध्याबाट रथसहित जनकपुर आइपुगे जन्ती,  रामको तिल्कोत्सव सम्पन्न

 मंसिर २४, २०७५ सोमबार १९:९:७ | शैलेन्द्र महतो

धनुषा – रामजानकी विवाहपञ्चमी महोत्सवका लागि भगवान रामको जन्मभूमि भारतको अयोध्याबाट साधुसन्त जन्तीको रुपमा रथ लिएर जनकपुर आइपुगेका छन् ।  
उत्तर प्रदेशको अयोध्याबाट केहीबेर अघि दुई घोडा रथ र एक दर्जन बढी गाडीसहित सयौंको संख्यामा साधुसन्त जनकपुर आइपुगेका हुन् । उनीहरु जटही नाका हुँदै जनकपुरधाम आइपुगेका  छन् ।

भगवान राम, लक्ष्मण, शंकर, हनुमानको प्रतिकमा युवालाई सजाएर आएका साधुसन्तको जन्तीलाई मिथिलाको संस्कृति अनुसार भव्य रुपमा स्वागत गरिएको छ । जन्ती तथा अतिथिलाई जानकी मन्दिरका महन्थ रामतपेश्वर दास वैष्णव र सह–महन्त रामरोशन दास वैष्णवले स्वागत गर्नुभएको छ ।  

त्यसअघि जटही नाकाबाट नेपाल प्रवेश गरेका साधुसन्तका जन्तीलाई धनुषाको नगराइनमा स्थानीयहरुले बाजागाजा र मिथिलाको स्वागत गरेका थिए । यस्तै हात्ती र ऊँट लिएर पनि अयोध्याबाट जन्ती आउँदै गरेकोे अयोध्याबाट आएका साधुसन्तले बताएका छन् ।

गएको मंसिर २१ गतेबाट सुरु भएको सप्ताहव्यापी रामसीता विवाहपञ्चमी महोत्सवमा उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथसमेत जन्तीको रुपमा आउने भएपछि यस पटक जनकपुरमा विशेष तामझाम छ । मंसिर २६ गते पर्ने विवाहपञ्चमीको मुख्य दिनमा मुख्यमन्त्री योगी आदित्यनाथ आउने कार्यक्रम छ । विवाहपञ्चमी चलिरहँदा जानकी मन्दिरलाई बेहुलीजस्तै सजाइएर आकर्षक बनाइएको छ ।

रामको तिल्कोत्सव सम्पन्न

यस्तै विवाहपञ्चमीको चौथो दिन आज सोमबार तिलकोत्सव कार्यक्रम सम्पन्न भएको छ । तिल्कोत्सवमा मिथिलाको परम्पराअनुसार रामलाई तिल्काउन जानकी मन्दिरबाट एक हजार एक विविध मिठाई तथा फलफूलको भारसहित जानकी मन्दिरका महन्थ रामतपेश्वर दास वैष्णव राम मन्दिर पुग्नु भएको थियो । उनीहरुलाई राममन्दिरमा एक समारोहबीच भव्य स्वागत गरिएको छ ।

तिलकोत्सवको अवसरमा राजा जनकको प्रतीक जानकी मन्दिरका महन्त रामतपेश्वर दास वैष्णव र अयोध्या दरबारको राजा जनकको प्रतीक राम मन्दिरका महन्त राम गिरीले अंकमाल गरी सम्धीमिलन गर्नुभएको छ । त्यस अवसरमा दुवै पक्षको मिलनपछि हाँस्य व्यंग्यात्मक रुपमा मिथिलाको गीतसमेत गाएर रमाइलो गरिएको थियो ।

विवाह पञ्चमीको पाँचौ दिन मंगलबार जानकीको मटकोर हुने छ भने बुधकार बाह्रविघा मैदानमा रामजानकीको स्वयम्वर र जानकी मन्दिरमा वैवाहिक कार्यक्रम हुने छ । 
 

 

अन्तिम अपडेट: बैशाख २५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

शैलेन्द्र महतो

शैलेन्द्र महतो उज्यालोका धनुषा सहकर्मी हनुहुन्थ्यो। 

तपाईको प्रतिक्रिया