सल्यानमा नमुना एसईई परीक्षा सुरु

 मंसिर २५, २०७५ मंगलबार १७:१३:७ | पुरुषोत्तम गिरी
unn.prixa.net

सल्यान – विद्यार्थीको मूल्यांकन गर्नको लागि सल्यानको सिद्ध कुमाख गाउँपालिकामा पालिकास्तरीय नमुना एसईई परीक्षा शुरु भएको छ ।

मंसिर २३ गतेदेखि सञ्चालन भएको एसईई परीक्षा पुस २ गतेसम्म सञ्चालन हुने गाउँपालिकाले जनाएको छ । एसईईको तयारी गरिरहेका विद्यार्थीका लागि सञ्चालन गरिएको परीक्षामा यस गाउँपालिकाका ५ वटा माविलाई नै परीक्षा केन्द्र तोकी अन्तरविद्यालय निरीक्षक खटाइएको छ ।

आउँदै गरेको एसईई परीक्षालाइ सहयोग हुनेगरी गाउँपालिकाले पहिलो पटक यो अभ्यास गरेको गाउँपालिका अध्यक्ष मानबहादुर चलाउनेले जानकारी दिनुभयो । परीक्षामा सिद्ध कुमाख गाउँपालिका भित्रका ५ वटा माविबाट २ सय १५ जना विद्यार्थी सहभागी रहेका छन् ।

परीक्षा सकिएपछि सबै उत्तरपुस्तिका गाउँपालिकामा संकलन गरी जाँच गरिनेछ । नतिजा प्रशासनपश्चात विद्यार्थीको शैक्षिक गुणस्तर हेरेर थप कार्यक्रम गर्ने शिक्षा शाखा प्रमुख मेघराज गौतमले बताउनुभयो ।

गाउँपालिकाले शिक्षाको क्षेत्रमा रहेका कमी कमजोरी हटाउने लक्ष्यसहित यसको सुरूवात गरेको गाउँपालिका उप–प्रमुख पुष्पा बोहराले बताउनुभयो । यसअघि पनि गाउँपालिकाले शिक्षा शाखाको संयोजकत्वमा शैक्षिक कार्यलद गठन गरी शिक्षाको क्षेत्रमा रहेका कमजोरी औल्याएर सुझाव समेत पेश गरिसकेको छ । 

अन्तिम अपडेट: बैशाख १३, २०८१

पुरुषोत्तम गिरी

पुरुषोत्तम गिरी सल्यानका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया