माइक खोसेर सह–महामन्त्री महतले अपमान गरे : केसी

 पुस ३, २०७५ मंगलबार १५:१७:४६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – नेपाली कांग्रेस नुवाकोटका सभापति जगदिश्वर नरसिंह केसीले पार्टीका सह–महामन्त्री डा.प्रकाशशरण महतले माइक खोसेर आफूलाई अपमानित गराएको बताउनुभएको छ ।

पार्टीको महासमिति बैठकमा बोल्दै गर्दा केन्द्रीय सदस्य महतले आफ्नो माइक खोसेको केसीले बताउनुभयो ।  केसीले भन्नुभयो, ‘विधान नआई छलफल गर्नुको अर्थ नै नरहेको जिल्ला सभापतिहरुले बताउँदै गर्दा मैले पनि माइकबाट विधान ल्याउन अनुरोध गरिरहेको थिएँ, त्यसैबेला महत आएर माइक खोस्नुभयो ।’ माइक खोसाखोस हुँदा माइक फुटेको पनि केसीले बताउनुभयो । 

‘निर्धारित कार्यतालिकाअनुसार मंगलबार महासमिति बैठक सकिनु पर्थ्यो’, उहाँले भन्नुभयो, ‘तर आजसम्म पनि बैठकमा विधान पेश नहुँदा बैठक लम्बिरहेको छ ।’ 
बैठकमा भाग लिन आएका जिल्ला सभापतिहरुले पार्टी सभापतिलाई बैठकमा विधान पेश गर्न आग्रह गरेका थिए । 

पार्टी सभापतिले विधान कुर्ने भए बैठक स्थगित गरौँ भने पछि अहिले बैठक स्थगित भएको पनि केसीले बताउनुभयो । 

‘बैठकको मुख्य एजेण्डा नै विधान हो, विधान नै पेश नभएपछि बैठक लम्ब्याइरहनुको पनि कुनै अर्थ छैन’, उहाँले भन्नुभयो, ‘जतिसक्दो छिटो केन्द्रीय समितिमा सहमति जुटाएर बैठकमा विधान पेश हुनुपर्छ ।’ पार्टीको राजनीतिक, सांगठिन तथा आर्थिक प्रतिवेदन पेश भए पनि अझैसम्म विधान पेश हुन सकेको छैन । 

बैठकमा सहभागी सबै प्रतिनिधिहरु पार्टीको विधान कस्तो छ भनेर कुरिरहेको उहाँले बताउनुभयो । बैठकमा पेश नभएसम्म विधानका बारेमा आफूहरुलाई जानकारी नहुने भन्दै उहाँले बैठकमा पेश भएपछि भने आफ्नो धारणा राख्ने बताउनुभयो । 

पार्टीका अधिकांश जिल्ला सभापतिहरुले अबदेखि पार्टीको पदाधिकारी प्रत्यक्ष निर्वाचन प्रकृयाबाट चुनिनुपर्ने व्यवस्था राख्न माग अगाडि सारेको पनि उहाँले बताउनुभयो । 

अहिलेको पार्टीको विधानमा नेतृत्वले पदाधिकारी छान्न सक्ने व्यवस्था छ । तर अहिलेको अवस्थामा यो व्यवस्था उपयुक्त नहुने भन्दै सबै पदाधिकारी प्रत्यक्ष निर्वाचित भएर आउनुपर्ने व्यवस्था विधानमै राखिनुपर्ने भनेर जिल्ला सभापतिहरुले सुझाव दिएको केसीले बताउनुभयो । 

लामो समयदेखि रहँदै आएको विधान संशोधन गर्नुपर्ने अवस्था रहेकाले धेरै चरणमा छलफल चलेकाले महासमिति बैठक लम्बिएको हुन सक्ने उहाँले बताउनुभयो ।   
 

अन्तिम अपडेट: बैशाख २४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया