पूर्वमा उधौली पर्वको रौनक

 पुस ८, २०७५ आइतबार १८:३६:४२ | उपेन्द्र येक्तेन
unn.prixa.net

पाँचथर – आदिवासी समुदायको बहुल्य रहेको पूर्वका जिल्लाहरुमा उधौली पर्वको रौनक सुरु भएको छ ।

मंसिरे पूर्णिमाको दिनदेखि मनाइने उधौली पर्व आदिवासी समुदायमा घरघरमा दिपावली तथा सामूहिक पूजापाठ गरेर मनाउने गरिन्छ । उधौली पर्व आदिवासी जनजाति अन्तर्गतका लिम्बू समुदायमा ‘चासोक तङनाम’, राईहरुले ‘साकेला/साकेन्वा’ सुनुवारहरुले ‘साँदर’ र याख्खाहरुले ‘फोलूयाँदर’ पर्वको रुपमा मनाउने गरिन्छ ।

पर्वको अवसरमा पाँचथरमा सप्ताहव्यापी चासोक मेला सुरु भएको छ । फिदिम–४ स्थित ऐतिहासिक गढी डाँडामा मेला सुरु भएको हो । पुस १५ गतेसम्म लाग्ने मेलामा लिम्बू कविता प्रतियोगिता, पालाम, च्याब्रङ नाच, हाक्पारे, संगीनी, बालन, मारुनी नाच, डम्फू नाच, तामाङ सेलो, धामी नाच, साकेला नाच, हुर्रा नाच र छेलो हान्नेलगायतको कार्यक्रम रहनेछ ।

पर्वको अवसरमा ताप्लेजुङको तोक्मे डाँडा, इलामको माइखोला र झापाको विभिन्न स्थानहरुमा सामूहिक कार्यक्रमको आयोजना गरी पर्व मनाइन्दैछ । आदिवासीहरुको बसोबास रहेको छिमेकी देश भारतको सिक्कीममा पनि उधौली पर्व विशेष महत्वका साथ मनाउने गरिन्छ ।

उधौली पर्वलाई आदिवासी समुदायमा सामूहिक पूजापाठसँगै घरघरमा दिपावली गरेर मनाइन्छ । पाकेको नयाँ अन्नबाली आफूले खानुअघि प्रकृति र देवी देउतालाई चढाएर मात्र मानिसले खाने गरिन्छ । यसो गरेमा कुनै दुख नहुने, अन्नको सह रहने जनविश्वास छ ।

यसलाई नै लिम्बू समुदायमा चासोक तङनाम भनिन्छ । उधौली पर्व आदिवासीको बाहुल्यता रहेको पूर्वका पाँचथरसहित, ताप्लेजुङ, इलाम, तेह्रथुम, झापा, मोरङ, सुनसरी, धनुकटा, संखुवासभा र  उपत्यकामा समेत विशेष महत्वका साथ मनाइन्छ ।

उधौली पर्व मानिस, जनावर तथा चराचुरुङगी लेकबाट बेँसीतिर झर्ने समय मंसिरे पूर्णिमादेखि मनाउने गरिन्छ भने अन्नबाली लगाउने बेला मानिस, जनावर तथा चराचुरुङगी लेकतिर जाने समय वैशाख पूर्णिमादेखि १५ दिनसम्म आदिवासी समुदायमा उभौली पर्व मनाउने प्रचलन छ ।


 

अन्तिम अपडेट: बैशाख २५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

उपेन्द्र येक्तेन

पाँचथरका उज्यालो सहकर्मी उपेन्द्र येक्तेन इगल एफएममा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया