स्कुल नभेटेपछि इँटामै ए, बी, सी, डी...

 पुस २०, २०७५ शुक्रबार १०:५३:२१ | मिलन तिमिल्सिना
unn.prixa.net

धनुषा चारनाथ नगरपालिकाकी १० वर्षीया विना तामाङलाई जुनबेला पनि लेख्न र पढ्न मात्र मन लाग्छ । गाउँमा ३ कक्षामा पढ्दै थिइन् । गाउँ छाड्नु अघि कहिल्यै स्कुल छुटाइनन् ।

बिहान उठ्नेबित्तिकै पढ्न बस्ने, भात खाएर स्कुल जाने, कक्षामा पनि पढिरहने, अनि बेलुकी घर फर्किएपछि पनि किताब हेर्ने उनको बानी छ । तर एक महिनाभन्दा बढी भयो उनी स्कुल जान पाएकी छैनन् । बाआमा इँटा बनाउने काम गर्न काठमाडौं आएपछि भाइ र उनी बाआमासँगै काठमाडौं आए । 

चन्द्रागिरिमा रहेको इँटा भट्टाको खेतमा सानो छाप्रो छ । चिसो रातमा यही छाप्रोभित्र बाआमासँगै गुटुमुटु भएर विना र उनको भाइ अजित सुत्छन् । बिहान घाम लागेपछि उठ्छन् । बाआमा दिनभर इँटा बनाउँछन् । विना र ५ वर्षका भाइ अजित चाहिँ खेलेर दिन कटाउँछन् ।

खेल्दा पनि विनाले पढाइकै कुरा सम्झिन्छिन् । बाआमाले बनाएको काँचो इँटामा छेस्कोले कोरेर एबीसीडी लेख्छिन् । ‘स्कुल गएर पढ्न मन छ, तर यहाँ स्कुल छैन, त्यसैले इँटामा लेखेको’ चाङ लगाएर राखेको काँचो इँटामा एबीसीडी लेख्दा लेख्दै उनले भनिन् ।

हुन त काठमाडौं आउँदा विनाका बा नैनबहादुरले विनाका लागि कापीकलम पनि साथमै ल्याएका छन् । तर उनलाई कापीकलममा भन्दा इँटामा लेख्न रमाइलो लाग्छ । ‘स्कुल जान पाए पो कापीकलममा लेख्ने त, स्कुल जान नपाएपछि यहीँ लेख्न रमाइलो’, विनाले भनिन् ।

विना मात्रै होइन, उनको भाइ अजितलाई पनि पढ्न मन छ । साथीहरुसँगै खेल्दै, रमाउँदै पढ्न पाए कस्तो हुन्थ्यो भन्ने लाग्छ अजितलाई पनि । तर गाउँबाट काठमाडौं आएपछि साथीभाइसँग खेल्न र रमाउँदै पढ्न पनि पाइएन ।

बाबुआमा पनि छोराछोरीलाई स्कुल पठाउन चाहन्छन् । तर इँटा बनाउने ठाउँ नजिकै सरकारी स्कुल छैन । ‘छोराछोरी पढ्न धेरै मन गर्छन् भनेर कापीकलम पनि बोकेर आएको, तर यहाँ पढ्न पठाउने स्कुल नै भेटिएन’ नैनबहादुरले भन्नुभयो, ‘टाढाको स्कुलमा उनीहरु जान सक्दैनन्, आफूले पुर्‍याउन भ्याइँदैन, अब पाँच महिना पढाइ छुट्ने भयो ।’

६ महिना पढाइ डामाडोल

विना र उनको भाइ अजितको मात्रै होइन, बाबुआमासँगै इँटा बनाउन काठमाडौं आएका धेरै बालबालिकाको पढाई यसैगरी डामाडोल हुने गरेको छ । मंसिरदेखि वैशाखसम्म ६ महिना उनीहरु बाआमासँग इँटा बनाउने ठाउँमै बस्छन् । काम गर्न सक्नेले बाआमालाई इँटा बनाउन सघाउँछन् । नसक्ने चाहिँ धुलो र हिलोमा खेलेर दिन बिताउँछन् ।

बावुआमासँगै इँटा बनाउने खेतमा बास बस्न बाध्य केटाकेटीमध्ये कतिपयलाई पढाई छुट्यो भन्ने चिन्ता छ । धेरैले चाहिँ पढाइको महत्व नै बुझ्न पाएका छैनन् । 

अनि छोराछोरीलाई पढाउनुपर्छ भनेर बुझ्ने अभिभावकको संख्या पनि कम छ । छोराछोरीले स्कुल जानुको सट्टा इँटा बनाए भने आफ्नो कमाई धेरै हुन्छ भन्ने सोच्छन् धेरै बाबुआमा । थोरै बा आमालाई मात्र छोराछोरीको पढाई बिग्रियो भन्ने चिन्ता छ ।

विनाको बुवा नैनबहादुरसँगै इँटा बनाउने धनुषाका जीवन मगरलाई पनि यस्तै चिन्ता छ । उहाँकी एक छोरी गाउँमै सात कक्षामा पढिरहेकी छिन् । कान्छी छोरी चाहिँ घर बस्न नमानेर सँगै काठमाडौं आइन् । ‘यसको पढाई बिग्रियो, तर भनेकै मानिनँ, के गर्ने’, इँटा बनाउँदै गरेका जीवनले भन्नुभयो ।

इँटा भट्टाको कक्षामा नाम मात्रको पढाइ

काठमाडौंका केही इँटा भट्टाले अस्थायी कक्षा सञ्चालन गर्ने गरेका छन् । चन्द्रागिरिमा रहेको उमा इँट्टा भट्टाले पनि बालबालिकाको लागि कक्षा सञ्चालन गरेको छ । 

तर यस्तो कक्षामा एबीसीडी मात्रै पढाइन्छ । ६/७ वर्षका बालबालिकाले पढ्न मिले पनि दुई, तीन कक्षाभन्दा माथि पढ्ने बालबालिकालाई यस्तो अस्थायी कक्षा काम छैन । त्यसैले पढ्न मन गर्ने विना जस्ता बालिकाले इँटा भट्टाको कक्षामा पढ्न पाएका छैनन् । 

यस्तो कक्षामा आउने बालबालिकाको लागि इँटा भट्टाले दिनमा एकपटक खाना या खाजाको पनि व्यवस्था गर्ने गरेका छन् । तैपनि बालबालिका नियमित कक्षामा जाँदैनन् । ‘बालबालिका खोज्दै खेत खेत चाहानुपर्छ, कसैलाई बाबुआमाले इँटा बनाउन लगाइरहेका हुन्छन्, कति चाहिँ आउनै मान्दैनन्’, अस्थायी कक्षामा पढाउने रीता तामाङले भन्नुभयो, ‘पढ्नुपर्छ भनेर फकाउनै समय लाग्छ, छोराछोरीलाई पढाउनुपर्छ भनेर बुझ्ने अभिभावक कमै छन् ।’

देशभरका झण्डै ११ सय इँटा भट्टामा अहिले एकैपटक इँटा बनाउने काम भैरहेको छ । सबै इँटा भट्टामा गरी तीनलाख भन्दा धेरै मजदुर काममा छन् । तीमध्ये धेरै त भारतीय छन् । देशभित्रका र भारतका मजदुरले समेत आफ्ना परिवार र छोराछोरीलाई आफूसँगै इँटा भट्टामा राखेका छन् । 

इँटा भट्टामा बाबुआमासँगै बस्ने लाखौं बालबालिकाको पढाई डामाडोल भएको छ । सबै बालबालिकालाई विद्यालय पठाउने भनेर अभियान चलाएको सरकारले यसतर्फ ध्यान दिन सकेको छैन ।

लाखकाे आशमा खेतको बासका अन्य शृङ्खला पनि पढ्नुहाेस्

कलेज पढ्ने दुई रोल्पाली किशोरीका सपना इँटाका भारीले थिचिए

इँटासँग साइनो गाँसिएका ६ सन्तान : दुई श्रीमानका, दुई श्रीमतीका र दुई दुवैका !

स्कुलमा ‘लभ’ परेर पढाइ बिग्रियो : पासपोर्टमा कान बिग्रेर काम सप्रियो !

दिनरात बुढाबुढी साथ : मेलो सार्न कुखुरासँग बात !

 


 

अन्तिम अपडेट: भदौ २७, २०७६

मिलन तिमिल्सिना

दुई दशकदेखि रेडियो र अनलाइन पत्रकारितामा संलग्न मिलन तिमिल्सिना समसामयिक विषयमा विश्लेषण र व्यंग्यमा दखल राख्नुहुन्छ। 

तपाईको प्रतिक्रिया