कलेज पढ्ने दुई रोल्पाली किशोरीका सपना इँटाका भारीले थिचिए

 पुस १९, २०७५ बिहिबार १०:५४:३७ | मिलन तिमिल्सिना
unn.prixa.net

१८ वर्षीया प्रेमसरा बुढा र १७ वर्षीया त्रिपणा बुढा मगरलाई आफ्नो गाउँको अवस्था देखेर साह्रै चिन्ता लागेपछि उनीहरु बाआमासित बाटो खर्च मागेर काठमाडौ पसे ।

गाउँमा परिवर्तन ल्याउन पहिले आफू पढ्नुपर्छ र अरुलाई पढ्न प्रेरित गर्नुपर्छ भनेर उनीहरुले राम्ररी बुझेका छन् । नातामा फुपू–भदै पर्ने यी किशोरीलाई धेरै पढ्न मन छ । पढाइ राम्रै भएकाले घरपरिवारले पनि उनीहरुको इच्छामा अहिलेसम्म साथ दिँदै आएका छन् । 

रोल्पा १० धाङ्सीका प्रेमसरा र त्रिपणा अहिले गाउँकै बालकल्याण उच्च माविमा ११ कक्षामा पढ्दैछन् । दुवैले अघिल्लो वर्ष ‘बी प्लस’ ल्याएर एसईई पास गरेका हुन् । एसईई पास हुनेबित्तिकै उनीहरु त्यहीँ ११ कक्षामा भर्ना भएका थिए ।

अहिलेसम्म बाआमाले जसोतसो खर्च दिएर पढाए । अब उच्च शिक्षा पढ्न थालेपछि भने खर्चको अभाव हुन थाल्यो । बावुआमाले खर्च दिन सकेनन् भने उच्च शिक्षा पढ्ने सपना अधुरै हुन्छ । पढाई छुटेपछि बिहे हुन्छ । आफ्नो खुट्टामा उभिन नपाउँदै बिहे हुँदा दुःख पाइन्छ । आफ्नो, परिवारको र समाजकै स्थिति सुधार गर्ने लक्ष्यमा पनि ‘ब्रेक’ लाग्छ । त्यसमाथि २० वर्षअघि बिहे गर्न पनि हुन्न । 

गाउँमै बसिरहे सबै सपना अधुरै हुने देखेपछि प्रेमसरा र त्रिपणालेआपसमा सल्लाह गरे – अब काठमाडौं जाने, काम गर्दै पढ्ने । जसरी पनि उच्च शिक्षालाई अगाडि बढाउने निधो गरेका उनीहरुले दायाँबायाँ अरु सोचेनन् । घरपरिवारसँग सल्लाह गरे, अनि अलिकति खर्च, किताबकापी र लुगाफाटो बोकेर उनीहरु महिना दिनअघि काठमाडौं हिँडे ।

काठमाडौंमा इँटा भट्टाको बास

तर काठमाडौं सपनाको शहर हो । सपना बोकेर यस शहरमा पस्न सजिलो छ, तर काम पाउन र पैसा कमाउन सजिलो छैन ! एक त भन्नेबित्तिकै काम पाइँदैन ।

पाइहालेमा पनि भनेजस्तो दाम हुँदैन । अलिअलि कमाएको पैसा खान र बस्नमै ठीक्क हुन्छ । त्यसमाथि भर्खर ११ कक्षा पढ्दै गरेका र पहिलोपटक काठमाडौं आएका प्रेमसरा र त्रिपणाले कसरी काम पाउन सकून् र ?

काम गर्दै पढ्ने भन्ने सपना साँचेर काठमाडौं छिरेका दुवै किशोरी अन्योलमा परे । गाउँबाट सँगै काम खोज्दै आएका अरुले इँटा भट्टामा भारी बोक्ने काम पाइन्छ भन्ने सुनाए । नचिनेको ठाउँमा त्यसै भौंतारिनुभन्दा त केही दिन इँटा भट्टामै काम गर्न ठीक हुन्छ भन्ने ठानेर उनीहरु गाउँकै चिनेजानेका छिमेकीहरुको साथमा चन्द्रागिरिको इँटा भट्टा पुगे ।

इँटा भट्टामा भारी बोक्ने काम मिल्यो । ‘खेतमा बनाएको काँचो इँटा बोकेर पोल्ने ठाउँसम्म ल्याउनुपर्ने रहेछ’ इँटाको भारी बिसाएर थकाई मार्दै गरेकी प्रेमसराले भन्नुभयो, ‘जिन्दगीमा पहिलोपटक यस्तो काम गरेको, साह्रै गाह्रो हुँदो रहेछ ।’

जति धेरै इँटा बोक्न सक्यो, उति धेरै पैसा हुन्छ । एक हजार इँटा बोक्दा तीन सय रुपैयाँ कमाई हुन्छ । दिनमा मुश्किलले १५ सय, दुई हजारसम्म इँटा बोक्न सक्ने प्रेमसराले बताउनुभयो । यो हिसाबले दिनमा सरदर ५-६ सय रुपैयाँ कमाई हुन्छ ।

काम गर्न आएका गाउँका अरुजस्तै उनीहरु पनि इँटा भट्टाले नै बनाइदिएको छाप्रोमा बस्दै आएका छन् । दिनभर इँटा बोक्नुपर्ने भएकाले कुन कलेजमा कसरी र कुनबेला पढ्ने भन्ने निधो गर्न सकेका छैनन् । 

बिरामी परिन् त्रिपणा

इँटा भट्टामा भारी बोक्ने अरु पनि धेरै छन् । तर प्रेमसरा र उनकी फुपू त्रिपणाले पहिलोपटक इँटा बोक्ने काम गरेका हुन् । दुवैजनालाई यो काम साह्रै गाह्रो भएको छ । एक हप्ता इँटा बोकेपछि त्रिपणा त बिरामी नै हुनुभयो । ‘खुट्टा दुखेर दुई दिनदेखि हिँड्नै भएको छैन, कम्मर र पेट पनि दुखेको छ’ इँटा भट्टा नजिकैको छाप्रोमा आराम गरिरहेकी त्रिपणाले भन्नुभयो, ‘डाक्टरले काम नगर्नु, आराम गर्नु भनेका छन्, काम नगरे फेरि के खानु ?’

त्रिपणा बिरामी भएर काम गर्न नसकेपछि प्रेमसरालाई पनि पीर परेको छ । ‘दुवै जना मिलेर धेरै कमाउने र त्यही पैसाले कलेज पढ्ने भनेर आएको, तर काम नै गर्न नसकेपछि पैसा नहुने भयो, पैसा नभएपछि कसरी पढ्ने ?’

आफूभन्दा कम उमेरका अरुले दिनभर भारी बोकेको देख्दा प्रेमसरालाई अचम्म लाग्छ । ‘हामीभन्दा सानी बहिनीहरुले इँटा बोक्छन्, उनीहरुलाई केही भएको छैन, तर हामी आत्तिसक्यौं’ प्रेमसराले भन्नुभयो ।

ढुंगा फोडेर फक्रिएका विरुवालाई कसले देला मलजल ?

‘ढुंगाको काप फोडेर पनि उम्रन्छ पीपल, सिर्जना शक्ति संसारमा कहिल्यै हुँदैन विफल ।’ राष्ट्रकवि माधवप्रसाद घिमिरेको यो कविता पंक्तिसँग मेल खान्छ, प्रेमसरा र त्रिपणाको जीवन पनि । एकातिर घरको आर्थिक अवस्था कमजोर, अर्कोतर्फ पढाउनको सट्टा काममा लगाउने र चाँडै घरजम गरिदिने सामाजिक संस्कार । 

यस्तो अप्ठ्यारो अवस्थामा पनि ढुंगाको काप फोडेर उम्रिएको पीपलजस्तै प्रेमसरा र त्रिपणाको जीवन अप्ठ्यारोमै पनि फक्रिन थालेको छ । तर जिन्दगीको यात्रामा अझै अघिल्तिर ठूल्ठूला चट्टान र पहाड फोडेर अघि बढ्न बाँकी छ । जुन उनीहरुको एक्लो आँटले मात्र सम्भव देखिंदैन ।

‘कति धेरै पढ्ने र केही बन्ने सपना थियो, तर यतै इँटामा अल्झिएर सकिने हो कि जस्तो लाग्छ’ भित्तातिर हेर्दै त्रिपणाले भन्नुभयो, ‘बाआमासँग कति पैसा माग्ने भनेर कमाउँदै पढ्दै गर्ने भनेर काठमाडौं आयौं, तर उल्टो दुःख पाउनु पर्यो ।

त्रिपणालाई उच्च शिक्षा पढिसकेपछि गायिका र रेडियोकर्मी बन्ने रहर छ । गाउँमा छँदा उहाँले स्थानीय रेडियोमा प्रसारण हुने गायन कार्यक्रममा पनि सहभागिता जनाउने गर्नुहुन्थ्यो ।

‘कतिपटक रेडियोमा गीत पनि गाएको छु नि मैले’ उत्साहित हुँदै त्रिपणाले भन्नुभयो, ‘कलेजको पढाइ सकेर अझै गीत गाउने र रेडियोमा कार्यक्रम चलाउने रहर छ ।’
प्रेमसरालाई गीत गाउन त आउँदैन । तर पढेर गाउँमै केही गर्ने चाहना छ । ‘हाम्रो गाउँमा अझै पनि धेरै बालबालिकाले पढेका छैनन्, सानैमा बिहे गर्ने चलन छ, हामीजस्ता कतिपय किशोरी त आमा भैसकेका छन्’ प्रेमसराले गाउँ सम्झँदै भन्नुभयो, ‘गाउँमा व्याप्त अशिक्षा र अज्ञानता हटाउन मन छ ।’तर उच्च शिक्षा पास नगर्दासम्म केही गर्न सकिंदैन भन्ने उहाँलाई राम्रोसँग थाहा छ । 

जसरी पनि पढाईलाई अघि बढाउने भित्री आँट भए पनि प्रेमसरा र त्रिपणा काठमाडौं आउनेबित्तिकै आत्तिएका छन् । गाउँमा आफ्नो उमेरका धेरै किशोरीले पढ्न पाएका छैनन् । कतिको बिहे भैसक्यो, कतिका बच्चा भैसके । छोराछोरीलाई स्कुलको सट्टा काममा लगाउने र सानै उमेरमा बिहे गर्ने चलन अझै हराइसकेको छैन ।

अशिक्षा र अज्ञानताले बालबालिकाको भविष्य अन्धकारमा रुमलिएको छ । गाउँको अत्यास र अन्धकार छिचोलेर धेरै पढ्न काठमाडौ त आई पुगे प्रेमसरा र त्रिपणा, तर यहाँ पनि जिन्दगी अघि बढाउने उज्यालो भेटिएको छैन ।  

‘काठमाडौंमा त झन् टिक्नै नसकिने रहेछ, गाउँ फर्केर पनि पढाइलाई अघि बढाउन सकिने हो कि होइन’ अन्योल भए पनि दुवैको मनमा झिनो आशा बाँकी छ । त्यसैले दुवैजना भन्छन् ‘हेर्दै जाउँ जिन्दगीले नयाँ बाटो फेला पारि हाल्छ कि !’

लाखकाे आशमा खेतको बासका अन्य शृङ्खला पनि पढ्नुहाेस्

इँटासँग साइनो गाँसिएका ६ सन्तान : दुई श्रीमानका, दुई श्रीमतीका र दुई दुवैका !

स्कुलमा ‘लभ’ परेर पढाइ बिग्रियो : पासपोर्टमा कान बिग्रेर काम सप्रियो !

दिनरात बुढाबुढी साथ : मेलो सार्न कुखुरासँग बात !

 

अन्तिम अपडेट: असोज २९, २०७६

मिलन तिमिल्सिना

दुई दशकदेखि रेडियो र अनलाइन पत्रकारितामा संलग्न मिलन तिमिल्सिना समसामयिक विषयमा विश्लेषण र व्यंग्यमा दखल राख्नुहुन्छ। 

तपाईको प्रतिक्रिया