सचिव कुट्ने मन्त्रीलाई कडा कारबाही गर्न कर्मचारी संघ–संगठनको माग

 पुस ३०, २०७५ सोमबार १६:११:३४ | उज्यालो सहकर्मी
unn.prixa.net

प्रदेश २ का उद्योग, वन, पर्यटन तथा वातावरण मन्त्रालयका सचिव विद्यानाथ झा/फाइल तस्बिर

काठमाडौं – कर्मचारी संघ, संगठनहरुले प्रदेश २ का उद्योग, वन, पर्यटन तथा वातावरण मन्त्रालयका सचिव विद्यानाथ झालाई कुटपिट गर्ने आर्थिक मामिला तथा योजनामन्त्री विजय यादवमाथि कडा कारबाही गर्न माग गर्दै सरकारलाई ज्ञापन–पत्र बुझाएका छन । 

निजामती कर्मचारीहरुको आधिकारिक ट्रेड युनियन, नेपाल निजामती कर्मचारी संगठन र नेपाल राष्ट्रिय कर्मचारी संगठनले सोमबार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितलाई ज्ञापन–पत्र बुझाउँदै सचिव झामाथि कुटपिट गर्नेमाथि कडा कारबाही गर्न माग गरेका हुन ।

आइतबार मन्त्री यादवले सचिव झाललाई आफ्नै कार्यकक्षमा बोलाएर कुटपिट गरेका थिए । त्यो घटना निन्दनिय भएको उल्लेख गर्दै कर्मचारी संघ, संगठनहरुले त्यस सम्बन्धमा सत्यतथ्य छानबिन गर्न आफूहरुसहितको सहभागिता हुनेगरी एक उच्चस्तरीय छानबिन समिति गठन गर्न र दोषीलाई कडा कारबाही गर्न सरकारसँग माग गरेका हुन ।

कर्मचारीको भावनामा आघात पुग्ने गरी घटना भएको उल्लेख गर्दै निजामती कर्मचारीहरुको आधिकारिक ट्रेड युनियन केन्द्रीय कार्य समितिका उपाध्यक्ष भोलानाथ पोखरेलले दोषीमाथि कडा कारबाही गर्न र निर्दोषलाई उचित क्षतिपूर्ति प्रदान गर्न माग गर्दै सरकारलाई ज्ञापन पत्र बुझाइएको बताउनुभयो ।

कर्मचारीहरुमाथि पटक–पटक दुव्र्यवहार हुने गरेको भन्दै कर्मचारी संघ, संगठनहरुले त्यस्ता खालको क्रियाकलाप तत्काल नरोकिए सरकारविरुद्ध कडा आन्दोलन गर्न बाध्य हुने चेतावनी पनि दिएका छन ।

उपाध्यक्ष पोखरेलले कार्य क्षेत्रमा कर्मचारीहरुको उचित सुरक्षाको व्यवस्था गर्न पनि सरकारको गम्भीर ध्यानाकर्षण गराउनुभयो । यता, मन्त्री पण्डितले भने त्यो घटनामा गल्ती गर्नेमाथि कडा कारबाही गर्ने प्रतिवद्धता जनाउनुभयो ।

उहाँले घटनाका सम्बन्धमा छानबिन गर्न प्रदेश २ को सरकारले छानबिन समिति गठन गरेको उल्लेख गर्दै प्रतिवेदन आएपछि दोषीमाथि कडा कारबाही गर्ने बताउनु भएको हो । मन्त्री यादवले मन्त्री, कर्मचारी जो भएपनि सरकारले गल्ती गर्नेलाई बाँकी नराख्ने पनि स्पष्ट पार्नुभयो ।

मन्त्री पण्डितले घटनापछि मन्त्री यादव र सचिव झाबाट आएको सार्वजनिक अभिव्यक्तिप्रति पनि आपत्ति जनाउनुभयो । उहाँले त्यो घटनाबाट उत्तेजित नहुन पनि कर्मचारीहरुलाई सचेत गराउनुभयो ।

त्यस अवसरमा मन्त्री पण्डितले कार्य क्षेत्रमा कर्मचारीहरुको सुरक्षा दिने कुरामा ढुक्क हुन पनि कर्मचारी संघ, संगठनका नेताहरुलाई आग्रह गर्नुभयो । प्रदेश २ का मन्त्री यादवले सचिव झालाई कुटपिट गरेको घटनाप्रति सर्वसाधारणले पनि आपत्ति जनाउँदै आएका छन ।

अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया