‘जलवायु परिवर्तनको दौडमा हामी विफल हुने खतरा छ’ : राष्ट्रसंघ महासचिव

 माघ ११, २०७५ शुक्रबार ८:१६:५३ | रासस
unn.prixa.net

स्विट्जरल्याण्ड – विश्वले जलवायु परिवर्तनविरुद्धको दौडमा हार्ने अवस्था आएको संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेसले बताएका छन् । 

बिहीबार स्विट्जरल्याण्डको डाभोसमा भइरहेको विश्व आर्थिक मञ्चअन्तर्गत ‘विश्वका नेताहरूको अनौपचारिक’ भेलामा बोल्दै उनले विश्वका सरकारहरूले जलवायु परिवर्तनबाट आउनसक्ने विनासकारी तापमान वृद्धिलाई रोक्न साहसी कदम चाल्नुपर्ने बताए । 

जलवायु परिवर्तन हाम्रो समयको जटील समस्या भएको छ । हामीले जलवायु परिवर्तन समस्या समाधान गर्ने दौडमा हारको सङ्घारमा पुगेका छौँ । उनले भने “जलवायु परिवर्तनबारे विश्वमा देखिएका प्रवृत्तिलाई उल्ट्याउन निर्वाद रूपले लाग्नुपर्ने देखिएको छ ।” 

गएकाे महिना पोल्याण्डमा सम्पन्न जलवायुबारे पेरिस सम्झौतालाई अघि बढाउने योजनाका साथ आएको संयुक्त राष्ट्रसंघको सम्मेलनपछि भएको विश्व नेताहरूको भेलामा गुटेर्रेसले विश्वले आवश्यक समाधान निकाल्नेमा आफू ‘आशावादी नरहेको’ बताए । उनले भने “हामीमा राजनीतिक इच्छाशक्ति रहनु आवश्यक छ र सवै देशका सरकारहरूले आफ्नो समयको प्राथमिकतालाई बुझ्नु सवैभन्दा महत्वपूर्ण विषय हो ।” 

पेरिस सहमतिबाट संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो देश पछि हट्ने बताएपछि जलवायु परिवर्तनबाट सिर्जित समस्यासँग जुध्ने विश्वका नेताहरूको सङ्कल्पमा समस्या उब्जिएको थियो । अमेरिकाको निर्णयसँगै ब्राजिल पनि अमेरिकालाई पछ्याउने बाटोमा देखिएको छ । यही अवसरमा पेरिसमा गरिएका प्रतिवद्धता अझै पनि प्रशस्त नहुने उनले बताएका छन् । 

“यदि हामीले पेरिसमा जे सहमति गर्‍याैँ त्यसलाई कार्यान्वयन गर्दा पनि विश्वको तापमान वृद्धि ३.० डिग्री सेल्सियसले वृद्धि हुनेछ,” उनले डाभोसबाट फेसबुक प्रत्यक्ष प्रशारणमा बताए । “सबै राष्ट्रहरूले जलवायु परिवर्तन समस्यासँग जुध्न कडा प्रतिवद्धता जनाउनु अनिवार्य छ,” गुटेर्रेसले भने । 

उनले गरिब राष्ट्रहरू, जसको जलवायु परिवर्तनमा खासै भूमिका छैन तर यसको असरबाट प्रभावित बनिरहनुपरेको छ, उनीहरूलाई आर्थिक सहयोग उपलब्ध गराउनु जरूरी भएको छ । 

डाभोस सम्मेलनपूर्व विश्व आर्थिक मञ्चले गरेको सर्वेक्षणले भेलाका सहभागीको मुख्य चासो जलवायु परिवर्तन र मौसमसम्बन्धी बढ्दो विसम गतिविधि नै रहने देखाएको थियो । 
 

अन्तिम अपडेट: बैशाख १२, २०८१

तपाईको प्रतिक्रिया