‘क्याप्टेन’को गीतमा निरुता र भुवन केसीले कम्मर मर्काउने

 माघ १३, २०७५ आइतबार १५:२६:८ | उज्यालो सहकर्मी
unn.prixa.net

अभिनेत्री निरुता सिंह १० वर्षपछि नेपाली सिनेमा उद्योगमा फर्किँदा पनि उनलाई  एकपछि अर्को सिनेमा मिलिरहेका छन् ।

केही समय अघि एक अवार्ड कार्यक्रमका लागि नेपाल आएको मेसोमा उनले सिनेमा नाईँ नभन्नु ल ५ मा काम गरेकी थिइन् । यस सिनेमामा उनका केही दृश्यहरुमात्र थिए । तर दर्शकले उनलाई अलिकति देख्न पाउँदा पनि निकै ठूलो खुशी मिलेको बताए । 

दर्शकको यही मायाका कारण निरुताले सिनेमा ‘दाल भात तरकारी’मा हरिवंश आचार्यको जोडीको रुपमा काम गरेकी छिन् । यो सिनेमाको छायांकनको लागि २ महिना नेपाल बसेर  केही दिन अघि मात्रै मुम्बई फर्केकी निरुता फेरि नेपाल आएकी छिन् । 

उनी यस पटक पनि सिनेमाको कामले नेपाल आएकी हुन् । उनी सिनेमा क्याप्टेनमा समावेश एउटा गीतको लागि  नेपाल आएकी छिन् । 
 
केही दिनअघि मात्रै मुम्बई पुगेकी निरुता अभिनेता अनमोल केसीको आग्रहमा नेपाल आएकी हुन् । अनमोलकै आग्रहमा उनले यस गीतमा काम गर्न मानेको निर्माता भुवन केसीले बताएका छन् । 

केही समय अगाडि एक कार्यक्रममा निरुताले आफूलाई अभिनेता अनमोल केसीसँग काम गर्न मन लागेको बताएकी थिइन् । सिनेमा क्याप्टेनमा समावेश उक्त गीतले  उनको यो इच्छा पूरा गर्ने भएको छ । गीतमा  निरुतासँगै अनमोल केसी र भुवन केसीले नृत्य गर्नेछन् । 

फागुन १७ गतेबाट प्रदर्शन हुन लागेको ‘क्याप्टेन’मा समावेश उक्त गीतको छायांकन केही दिनमा हुने निर्माण पक्षले जनाएको छ ।

अभिनेता भुवनको यस गीतमार्फत नेपाली सिनेमामा ८ वर्षपछि कमब्याक हुँदैछ । निरुता सिंहले २५ वर्ष अगाडि भुवन केसीकै सिनेमा  ‘दक्षिणा’बाट यो क्षेत्रमा पाइला टेकेकी हुन् । 

‘क्याप्टेन’मा अभिनेता अनमोल फुटबलरको भमिकामा छन् । दिवाकर भट्टराईको निर्देशन रहेको यस सिनेमामा अनमोलसँगै उपासना सिंह ठकुरी र प्रियंका एम भि मुख्य भूमिकामा छन् । 

अन्तिम अपडेट: चैत ३०, २०८०

तपाईको प्रतिक्रिया