चुराेट कारखानाभित्रको मुख्य भवनहरु मुख्यमन्त्रीले कब्जा गरे: उद्योगमन्त्री यादव

 माघ १३, २०७५ आइतबार १८:२५:३० | शैलेन्द्र महतो
unn.prixa.net

धनुषा - उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री मातृका प्रसाद यादवले प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले मनपरी जनकपुर चुरोट कारखाना लिमिटेड-जचुकालि भित्रका मुख्य भवनहरु कब्जा गरिरहेको आरोप लगाउनु भएको छ ।

आइतबार बिहान बन्द भइसकेको जनकपुर चुरोट कारखानामा पत्रकार सम्मेलन गरी सञ्चालनको लागि तयारी गरिरहेको बेला मुख्यमन्त्री राउतले विमर्श नै नगरी कारखानाकाे भवनअगाडि मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका बोर्ड झुण्ड्याएको समेत आरोप लगाउनुभयो ।

सल्लाह अनुसार तत्काल जचुकालिभित्रका केही आवास भवनहरुमा प्रदेश सरकार सञ्चालनको लागि दिएपनि जचुकालिका मुख्य कार्यालयहरु नै मुख्यमन्त्री राउतले कब्जा गरेकोमा आफू चकित भएको मन्त्री यादवको तर्क छ ।

मन्त्री यादवले मुख्यमन्त्री राउतलाई जचुकाली सञ्चालनको लागि वातावरण बनाउन आग्रह गरेको तर त्यसलाई कुनै वास्ता नगरेको बताउनुभयो ।

प्रदेश २ सरकारले जचुकालिको परिसरलाई मधेश भवन नामाकरण समेत गरिसकेको छ । मन्त्री यादवले आफुलाई जचुकालिको मुख्य कार्यालयमा मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय स्थापना, जचुकालिको मूल गेटमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयको बोर्ड झुण्ड्याउँदा र मधेश भवन नामाकरण गर्दा समेत मुख्यमन्त्री राउतले कुनै विमर्श नगरेको दावी गर्नुभयो ।

‘जचुकालि सञ्चालनमा अवरोध नगर्न पहिला पनि भनिसकेको छु । तर मुख्यमन्त्री राउतले त जचुकाली सञ्चालनको बारेमा गम्भीर नभइ पहिला विरगञ्जकाे चिनी मिल सञ्चालन गरेर देखाउन भन्नुभयो,’ उहाँले भन्नुभयो ‘जचुकाली सञ्चालनका लागि ४ जना चाइनिज र २ जना भारतीय लगानीकर्ताहरुसँग निरन्तर संवाद र सम्पर्कमा रहेका छन् । विदेशी लगानीकर्ताहरु जचुकालि अनुगमन गर्न जनकपुर आइरहेको बेला जचुकालिको बोर्डसमेत हटाएर कारखाना सञ्चालनप्रति गम्भीर नहुनु दुखद हो । ’

प्रदेश २ सरकार विकास तथा समृद्धिप्रति प्रतिबद्ध नभई कुनै एक क्षेत्रको मात्रै मुख्यमन्त्री जस्तो काम कारबाही गरिहेको समेत मन्त्री यादवको आरोप छ ।

 

अन्तिम अपडेट: बैशाख १३, २०८१

शैलेन्द्र महतो

शैलेन्द्र महतो उज्यालोका धनुषा सहकर्मी हनुहुन्थ्यो। 

तपाईको प्रतिक्रिया