नेपालमा निर्धक्कसँग लगानी गर्न विदेशी लगानीकर्तालाई अर्थमन्त्रीकाे आह्वान

 चैत १५, २०७५ शुक्रबार ११:५४:२५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – अर्थमन्त्री युवराज खतिवडाले लगानी अनुकुल वातावरण बनेकाले निर्धक्कका साथ नेपालमा लगानी गर्न विदेशी लगानीकर्तालाई आव्हान गुर्नभएको छ । 

काठमाण्डौको होटल सोल्टीमा आयोजित लगानी सम्मेलन २०१९का सहभागीलाई स्वागत गर्दै अर्थमन्त्री खतिवडाले स्थिर सरकारसँगै देशमामा संघीयताको सफल कार्यान्वयन भइसकेकाले लगानीका लागि उपयुक्त वातावरण बनेको बताउनुभएको हो । 

लगानी सम्मेलनका संयोजक समेत रहेका अर्थमन्त्री खतिवडाले विदेशी लगानी सम्बन्धी कानुनी जटिलताको पनि अन्त्य भएको तथा लगानीका दृष्टिले प्रसस्त संभावना बोकेको देश भएकाले निर्धक्कका साथ लगानी गर्न आग्रह गर्नुभयो । सरकारले अघि सारेको समृद्ध नेपाल सुखी नेपालीको लक्ष्य हासिल गर्नका लागि स्वदेशी पूँजी र प्रविधि प्रर्याप्त नभएकाले विदेशी लगानीका लागि आव्हान गरिएको स्पष्ट पार्नुभयो ।

उहाँले लगानी सम्बन्धी कानुन परिमार्जन गरिएको, संभावनाका परियोजनाहरु नै प्रस्ताव गरिएको तथा सरकारी निजी साझेदारी अवधारणा अनुसार काम गर्न सरकार तयार रहेको भन्दै भौतिक पूर्वाधार निर्माण, औद्योगीकरण, रोजगारीमा वृद्धि तथा निर्यातमा वृद्धि गरी आयात प्रतिस्थापन गर्दै मुलुकलाई आर्थिक रुपले सबल र आत्मनिर्भर बनाउनका लागि लगानीको आवश्यकता परेको स्पष्ट पार्नुभयो ।

उहाँले दोहोरो अंकको आर्थिक वृद्धि हासिलसँगै दीगो विकासको लक्ष प्राप्तिका लागि सरकार प्रतिबद्ध रहेको र यही अनुसार लगानी सम्बन्धी कानुन परिमार्जन तथा कर प्रणालीलाई पारदर्शी र सहज बनाउँदै लगिएको स्पष्ट पार्नुभयो ।

 

अन्तिम अपडेट: बैशाख ६, २०८१

तपाईको प्रतिक्रिया