सरकार डिजिटल नेपाल बनाउने लक्ष्यमा सक्रिय छ: मन्त्री बाँस्कोटा

 चैत २४, २०७५ आइतबार १४:३७:३५ | रासस
unn.prixa.net

काठमाण्डाै - सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले ‘समृद्ध नेपाल: सुखी नेपाली’ बनाउने सरकारको लक्ष्य पूरा गर्न सूचना प्रविधि क्षेत्रले महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताउनुभएको छ ।

सूचना प्रविधिका क्षेत्रमा कार्यरत चिनियाँ कम्पनी हुआवेले काठमाण्डाैमा आयोजना गरेकाे नेपाल मोबाइल काङ्ग्रेस-२०१९ को उद्घाटन गर्दै उहाँले सरकार सूचना प्रविधिमैत्री नेपाल(डिजिटल नेपाल) बनाउने लक्ष्यमा सक्रिय रहेको बताउनुुभयो । उहाँले सूचना प्रविधिको विकास, आविष्कार तथा प्रयोग गर्दै नेपाल डिजिटल यात्रामा अगाडि बढेको चर्चा गर्दै यस कार्यमा सबैको साथ र सहयोग आवश्यक रहेकोमा जोड दिनुभयो ।

उहाँले भन्नुभयो, ‘पछिल्लो समय विश्व सूचना प्रविधिको विकास र विस्तारमा चितुवाको गतिमा अगाडि बढेको छ, हामी पनि यही गतिमा कुद्न चाहन्छौँ, यसका लागि सरकार यस क्षेत्रमा कार्यरत लगानीकर्ता, कम्पनीसँग साथ र सहयोग लिन चाहन्छ ।’

हालै सम्पन्न लगानी सम्मेलनले सूचना प्रविधिको विकास र विस्तारमा जोड दिएको मन्त्री बाँस्कोटाले बताउनुभयो । मन्त्रालयले सूचना प्रविधिको पछिल्लो पुस्ता ‘फोर जी’ विस्तारमा उच्च प्राथमिकताका साथ काम अगाडि बढाइएको जानकारी दिँदै उहाँले फोर जी पछि फाइभ जी कार्यान्वयनको तयारीमा सरकार लाग्ने उल्लेख गर्नुभयो ।

उहाँले सूचना प्रविधिका क्षेत्रमा थप लगानी आकर्षण गर्न, यस क्षेत्रमा रहेका नीतिगत झन्झट अन्त्य गर्न नयाँ सूचना प्रविधि ऐन ल्याउन लागिएको जानकारी गराउनुभयो ।

‘समयमा काम सम्पन्न हुनुपर्छ, नेपाल डिजिटल इकोनोमी यात्रामा छ, शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, खुद्रा व्यापार, वन, सिँचाइ, ऊर्जालगायत हरेक क्षेत्रमा सूचना प्रविधिको अधिकतम प्रयोग गर्नुपर्छ’, उहाँले भन्नुभयो । प्रधानमन्त्री केपी शर्मा ओलीले डिजिटल फ्रेमवर्कलाई पाँचवर्षभित्र कार्यान्वयनमा ल्याउन निर्देशन दिनुभएको उल्लेख गर्दै उहाँले सूचना प्रविधिको क्षेत्रमा नयाँ फड्को मार्ने विश्वास व्यक्त गर्नुभयो ।

विश्वका १७० भन्दा बढी देशमा सूचना प्रविधिका क्षेत्रमा कार्यरत हुआवेले नेपालमा सन् १९९९ देखि कार्यरत छ । कम्पनीले पछिल्लो समय सूचना प्रविधि, मोबाइलका क्षेत्रमा गरेका काम प्रदर्शनीमा रहेका छन् । याे सम्मेलन चार दिनसम्म रहने छ ।

नेपालमा रहेकाे हुवावे कम्पनीका कार्यकारी अधिकृत देनि देङले डिजिटल इकोनोमीमा जोड दिन आग्रह गर्दै कम्पनीका गतिविधिबारे जानकारी गराउनुभयो ।

अन्तिम अपडेट: बैशाख ११, २०८१

तपाईको प्रतिक्रिया