फोन गरेर नथाक्ने कस्ता चालक !

 बैशाख ६, २०७६ शुक्रबार १२:१५:२८ | विना न्याैपाने
unn.prixa.net

केही दिनअघिको कुरा हो, बालाजु जानको लागि नख्खुबाट बस चढें । चालकको पछिल्तिर रहेको महिला सिट खाली रहेछ । त्यहीँ बसें । गाडी चलाइरहेका चालक मोबाइलमा गफिंदै थिए । एक हातले स्टेरिङ चलाउँदै अर्को हातले फोन समातेर कहिले हाँस्दै र कहिले जिस्कँदै कुरा गर्दै थिए ।

सानेपा हाइटमा पुग्नै लाग्दा अचानक ब्रेक लगाए । गाडी झण्डै पल्टिएन । सबै यात्रु कराए । वरपर सिटमा रहेका यात्रुले गाडी चलाएको बेला किन मोबाइलमा कुरा गरेको भनेर चालकलाई सोधे । मैले पनि मोबाइलमा कुरा गर्न भएन नि दाइ भनें । तर चालकले कसैको कुरा सुनेनन् । गाडी अगाडि बढाए । अझै मोबाइलमा कुरा गर्न छोडेका थिएनन् ।

बल्खुमा धेरैबेर रोकेर यात्रु पर्खन पाईंदैन । एकछिन बल्खुमा रोकेर यात्रु चढाएपछि चालकले अलि माथि लगेर बस रोके । फेरि फोनमा मस्त कुरा गर्न थाले । उनले फोनमा युवतीसँग कुरा गर्दैथिए भन्ने प्रष्ट थाहा हुन्थ्यो ।

१०/१५ मिनेट भैसक्दासमेत उनको गफ सकिएन । बसमा रहेका सबैलाई ढिलो भैसकेको थियो । चालकको नजिकै भएकाले मैले भनें, ‘ए दाइ गाडी रोकेर फोनमा बोलिरहने हो कि यात्रुलाई समयमै गन्तव्यमा पुर्याउने ?’

उनले मतिर यसो हेरे । अनि एकछिनमा फोन गर्छु है भनेर गाडी अगाडि बढाए । 

कलंकीमा अण्डरग्राउण्ड सडक सञ्चालन भएपछि जाममा बस्नु पर्दैन भनेर छिटो घर पुग्न चक्रपथको गाडीमा गएको, झन् ढिलो भयो । प्रायः म जावलाखेल, सुन्धाराको बाटो हुँदै घर जाने गर्छु ।

चालकको अनावश्यक फोनले यसै पनि ढिलो भैसकेको थियो । त्यसमाथि कलंकी पुगेपछि बस अण्डरग्राउण्डतिर नगई थानकोटतिर जाने साइडमा गएर रोकियो । चालक फेरि फोनमा व्यस्त भए । २०/२१ वर्षको जस्ता देखिने ती चालकलाई यात्रुको वास्तै थिएन । ढिलो भयो, गाडी चलाउ न भन्दा पनि उनले सुनेको नसुन्यै गरे ।

आधीघण्टा भैसक्दा समेत गाडी नचलेपछि मैले सहचालकलाई भनें, ‘प्रहरीलाई भनौं, कारबाही हुन्छ भन्ने थाहा छ कि छैन ?’ त्यसपछि सहचालकले चालकलाई दाई जाउँ भने । तर चालकले गाडी भरिएको छैन भने ।  

ट्राफिकलाई फोन गरौं त ? भनेर मोबाइल ब्यागबाट निकाल्न खोज्दा बल्ल गाडी अगाडि बढ्यो । तर पहिल्यै थानकोटतिर गाडी अघि बढिसकेकोले सिधै जान मिलेन । थानकोटतिर नै अगाडि बढ्यो । उताबाट घुमेर बालाजुतिर लाग्दा जामले अर्को आधाघण्टा त्यहीँ बित्यो ।

अब त बस रोक्दैनहोला भनेको त कलंकी पार गर्नेबित्तिकै चालक फेरि गाडी रोकेर फोनमा गफिन थाले । ‘९ बजेतिर सुकेधारा आइपुग्छु क्या’ उनी फोनमा भन्दै थिए । त्यहीँ ८ बज्न लागिसकेको थियो । ढिलो भयो, छिटो चलाउ न भन्दा पनि उनले सुनेनन् ।

स्वयम्भू पुगेपछि फेरि सुरु भयो फोनमा वार्तालाप । ‘तिमीलाई अप्ठ्यारोमा पार्दिन, ९ बजे म आईपुग्छु अनि संगै जाउँला’ उनी भन्दै थिए । दश मिनेट जति फोनमा गफपछि बल्ल ट्राफिक आईपुगे । अनि फोन राखेर गाडी चलाए जस्तो के गरेका थिए, अन्नपूर्ण चोक पुग्न नपाउँदै फेरि फोन गर्न थाले चालकले  । 

अहिलेसम्म कति गाडी चढियो, चालकको यतिसम्मको लापरवाही मैले देखेको थिइनँ । अरु गाडीका चालकले त फोन आयो भने पनि म गाडी चलाउँदै छु पछि गर पो भन्थे । तर यी चालकले त बारम्बार आफै फोन गर्दैछन् । के यस विषयमा सरोकारवालको ध्यान जानुपर्ने होइन र ?

बस स्टपमा यात्रु चढाउन अनि ओराल्न बाहेक धेरैबेर गाडी रोक्न पाईंदैन । गाडी चलाएको बेलामा फोनमा कुरा गर्न त झन् पाईंदै पाईंदैन । मिल्दै मिल्दैन । तर यी चालकले मनपरी गरे । अरु केही चालक पनि यसैगरी गाडी चलाउँछन् । जथाभावी रोक्छन् । यात्रुको सुविधालाई ध्यान दिंदैनन् । 

सरकारले ल्याएको नियम पनि धेरै लागू हुन सकेका छैनन् । माइक्रोबसमा सिटभन्दा धेरै यात्रु चढाउन नपाइने, जेब्रा क्रसिङ बाहेकबाट बाटो काटे जरिवाना तिराउने, हर्न बजाउन नपाइने, चालकले पोशाक अनिवार्य लगाउनुपर्ने जस्ता धेरै नियम आए । बेलाबेला कडाई पनि गरिए । तर फेरि जस्ताको तस्तै । 

चालकले गाडी चलाउँदा मोबाइल फोन प्रयोग गर्ने लगायतका अरु लापरवाहीका कारण धेरै दुर्घटना हुने गरेको तथ्य छ । एकपछि अर्को ठूला दुर्घटना भएको भन्दै प्रदेश ५ सरकारले कुनै पनि प्रकारका सवारी साधन चलाउँदा मोवाइल फोनको प्रयोग गरेको पाइएमा ठाउँको ठाउँ कारबाही गर्ने नियम ल्याएको छ ।

प्रहरीले सवारी तथा यातायात ब्यवस्था ऐन २०४९ को दोस्रो संशोधन २०७३ अनुसार चालकले गाडी चलाउँदा मोवाइल चलाए कारबाही हुने व्यवस्था छ । यस्ता चालकलाई कारबाही गर्नुपर्ने खाँचो त छँदैछ, चालक आफैं पनि जिम्मेवार हुनुपर्छ ।
 

अन्तिम अपडेट: चैत १, २०८०

विना न्याैपाने

विना न्याैपाने उज्यालाेमा कार्यरत हुनुहुन्छ।   

2 Comments

  • नबिन बस्नेत

    April 22, 2019, 11:52 a.m.

    लापरबाही गरी सवारी चलाउने चालकलाई तुरुन्त ट्राफिक प्रहरी बाोलाएर जिम्मा लगाउनु पर्थ्यो । कसैले आवाज उठाएन भने यस्ता अरु पनि घटनाहरु दोहोरिरहनेछन् । हामीले आफ्नो स्तरबाट नियम कानूनको पालना गर्न सजग गराउनै पर्छ । कसैले नजानेर गर्छन त कसैले जानी जानी नै नियम कानूनी व्यवस्थाको ठाडो उल्लंघन गरिराखेका हुन्छन् । समस्त यात्रुहरुको जीवन आफुले चलाएको स्टेरिङमा छ भन्ने जान्दा जान्दै गल्ती गर्ने चालकलाई त कडा भन्दा कडा कारबाही हुनैपर्छ ।

  •  0 Reply
  • केशव लामिछाने

    April 19, 2019, 1:11 p.m.

    खास मा हामी जनता नै घांस खाने भये पछि कस्को के लाग्छ र सरकारले नियम बनाएर के गर्नु..! सुँगुर लाई स्वर्ग लग्यो भने पनि गु खान छोड्दैन येस्तै हो हामी नेपाली भेडा जनताहरु .!! यँहा सदियों देखि चलिआएको हो यो परिबर्तन आउन धेरै समय लाग्छ..!! जब सम्म सरकारले कडा कारबाही गर्दैन.!! सानो भन्दा सानो गल्ती को पनि नियम नमान्ने लाई कमसे कम 20000 जरिवाना राख्नु पर्छ..!!

  •  0 Reply

तपाईको प्रतिक्रिया